मनामा । भुटानविरुद्ध २–० को पराजयसँगै एएफसी यु २० एसियन कप छनोटमा खराब सुरुआत गरेको नेपालले दोस्रो खेलमा आज राति कतारको सामना गर्नेछ । पहिलो खेलमा खेलाडीको अस्वस्थता र वातावरणमा घुलमिल हुन नसकेकाले पराजित हुनु परेको नेपाल आजको खेलमा अंक हासिल गर्न चाहन्छ ।
नेपाली समयअनुसार राति ११ः४५ बजे अल मुहारक रंगशालामा हुने खेलअघि युवा टिमले ट्रेनिङ गरेको छैन । भुटानविरुद्धको खेलको दुई दिनअघि मात्रै बहराइन आइपुगेको नेपाली टिमले राति ट्रेनिङ गरेको थियो ।
नेपालको समयअनुसार अघिल्लो दिन मात्रै आइपुगेर राति ट्रेनिङ गर्नुपर्दा फाइदाभन्दा घाटा धेरै भएकाले आइतबार टिमले ट्रेनिङ नगर्ने निणर्य गर्यो । राति साढे ७ बजे ट्रेनिङ गर्न जाँदा फर्किएर खाना खाएर सुत्ने समय ढिलो हुने भएकाले त्यसले फाइदाभन्दा घाटा धेरै हुने प्रशिक्षण टिमको अनुमान छ ।
त्यसैले नेपाली युवा टिमले आइतबार गरेको रणनीतिक तयारी नै आजको खेलको पूर्ण तयारी हो ।
भुटानसँगको हार स्वीकार गर्नै नसकेको प्रतिक्रिया दिएका मुख्य प्रशिक्षक मेघराज केसी आजको खेलमा सुधारिएको प्रदर्शन गर्नेमा आशावादी छन् ।
‘धेरै खेलाडीहरु बिरामी भएकाले र यहाँको वातावरणसँग घुलमिल भइनसकेकाले पनि पहिलो खेल अपेक्षित भएन,’ प्रशिक्षक केसीले भने, ‘हामी आएको करिब चार दिन भइसकेको छ, र हामी ‘एडजस्ट’ पनि हुने क्रममा छौं, त्यसैले सकारात्मक नतिजा आउनेमा आशावादी छु ।’
पहिलो खेलमा पराजित भएसँगै नेपाल समूह ‘बी’को पुछारमा छ । पहिलो तीन अंक जोडेको भुटान शीर्ष स्थानमा रहँदा १–१ गोलको बराबरी खेलेका बंगलादेश र बहराइन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यस्तै, तेस्रो स्थानमा रहेको कतारको आज नै पहिलो खेल हो ।
समूह विजेताले सोझै अर्को वर्ष उज्वेकिस्तानमा हुने प्रतियोगितामा स्थान बनाउने छन् भने उत्कृष्ट नतिजा भएका उपविजेताको पनि सम्भावना रहने छ ।