चेल्सी

चुकुवेमेका चेल्सीमा अनुबन्ध

लन्डन । चेल्सीले एस्टन भिल्लाबाट २० मिलियन पाउन्डमा मिडफिल्डर कार्ने चुकवेमेकालाई अनुबन्ध गरेको छ ।

मंगलबार दुई क्लबले संयुक्त रुपमा वक्तव्य जारी गर्दै चुकवेमेकाको सरुवा प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

पछिल्लो समय युरोपका अन्य प्रतिष्ठित क्लबहरुले पनि उनलाई भित्र्याउन चासो देखाएका थिए । स्पेनिस क्लब बार्सिलोनाले पनि लामो समयदेखि उनलाई भित्र्याउने चर्चा चलेको थियो । तर, प्रिमियर लिगकै क्लब चेल्सीले १८ वर्षीय प्रभावशाली मिडफिल्डर चुकवेमेकालाई ६ वर्षका लागि स्टाम्फोर्ड ब्रिज ल्याउन सफल भएको छ ।

‘केही दिनदेखि म धेरै व्यस्त थिएँ । चेल्सीलाई आफ्नो दिमागबाट निकाल्न सकेको थिइन । म धेरै खुशी छु र, सबै प्रक्रिया पूरा भएको जानकारी दिन चाहन्छु,’ उनले भने, ‘सहकर्मीहरुलाई भेट्न  र क्लबबाट खेलेर उपाधि जित्न धेरै उत्साहित छु ।’

चेल्सीका अध्यक्ष टोड बोलेले चुकुवेमेकालाई युरोपको उत्कृष्ट युवा खेलाडीको संज्ञा दिदै क्लबले चाहेका मिडफिल्डर भएको बताए ।