नेपाली फुटबल

पहिलो हाफमा नेपाल १–० ले पछि

कुवेत सिटी । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत कुवेतविरुद्धको पहिलो हाफमा नेपाली राष्ट्रिय फुटबल टिम १–० ले पछि परेको छ ।

कुवेतको राजधानी कुवेत सिटीस्थित अल जबर अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको २८औं मिनेटमा ओमर अल्हेबाइतरले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफभर घरेलु टिमको चर्को दबाब बेहोरेको नेपालले अन्तिम पाँच मिनेट भने सुधारिएको प्रदर्शन गरेको थियो । पहिलो हाफको इन्जुरी समयमा आयुस घलानले गरेका प्रहार पोस्टको नजिकैबाट बाहिरिएपछि नेपालले बराबरीको मौका गुमाएको थियो ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् ।

यसअघिको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । नेपालले जेठ ३१ गते इन्डोनेसियासँग खेल्ने तालिका छ ।