काठमाडौं । च्याम्पियन्स लिग अन्तिम ३२ अन्तर्गत दोस्रो लेगको प्लेअफमा बुधबार बेन्फिकामाथि जित हासिल गर्दा अनुपस्थित स्टार किलियन एमबाप्पे केही दिनमै चोटमुक्त भएर मैदान फर्किने रियाल मड्रिडले अपेक्षा गरेको छ ।
बुधबार राती घरेलु सान्टियागो बेर्नाबेउ रंगशालामा भएको खेलमा बेन्फिकामाथि २–१ को जित हासिल गरेको रियाल समग्रमा ३–१ को विजयी नतिजासहित युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको अन्तिम १६ प्रवेश गरेको थियो ।
केही समययता वायाँ घुँडाको चोटको उपचार गराइरहेका कारण घरेलु मैदानमा सम्पन्न उक्त महत्वपूर्ण खेलमा एमबाप्पे टिममा समावेश थिएनन् ।
‘उनले अभ्यास पनि गर्न सकेनन् । चोटका कारण उनलाई असहज महशुष भइरहेको थियो । हामीले टिम डाक्टरसँग सल्लाह गर्यौं । डाक्टरले पनि उनलाई केही समयका लागि आराम दिनु उपयुक्त हुन्छ भनेपछि एमबाप्पेलाई नखेलाइएको हो,’ रियालका प्रशिक्षक अल्भारो अर्बेलोवाले भने, ‘अझै केही दिन हामीले प्रतिक्षा गर्नुपर्नेछ । तर धेरै होइन । केही दिनमै उनी मैदान फर्किनेछन् ।’
रियालका लागि पछिल्ला ८ खेलमा ९ गोल गरेका फ्रान्सेली स्टारलाई बुधबार मैदानमा गोन्जालो गार्सियाले स्थानान्तरण गरेका थिए । गार्सियाबाहेक पहिलो रोजाइबाटै नियमित फरवार्डहरु आर्डा गुलार र भिनिसियस जुनियरले रियालको आक्रमण सम्हालेका थिए । जुनियरले बेन्फिकाविरुद्ध ८० औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
एमबाप्पेबाहेक रोडरिगो र ज्युड बेलिङघम पनि चोटका कारण रियालको टिममा तत्कालका लागि उपलब्ध छैनन् । तर फ्रांको मास्टान्टुनो र ब्राहिम डियाजजस्ता फरवार्ड बैकल्पिक खेलाडीका रुपमा टिममा रहनुले प्रशिक्षक अर्बेलोवालाई धेरै तनाव छैन ।
