काठमाडौं । नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विधान संशोधन तथा जिल्ला तहको निर्वाचन गरेर मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन गर्न निर्देशन दिएको छ ।
मंगलबार राखेपले एन्फालाई पत्र काट्दै विधान संशोधन गर्न तथा जिल्ला तह र क्लबहरुको निर्वाचन गरेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडी बढाउन आदेश दियो । राखेपले ११ वटा बुदामा बिधान संशोधन तथा प्रक्रिया पुरा गरेर मात्रै स्विकृत पाउने प्रष्ट पारेको छ ।
राखेपका संघ संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले बोधार्थमा युवा तथा खेलकुद मन्त्रालय सिंहदरवार, राखेप सदस्य सचिव, राखेप खेलकुद विकास विभाग तथा सुचना अधिकारीलाई राखेका छन् ।
एन्फाले जिल्ला र प्रदेशको निर्वाचनबिना केन्द्रको निर्वाचन माघ २८ मा झापामा गर्ने निर्णय गरेको थियो । त्यसपछि एन्फाकै निर्णयमा असन्तुष्टि जनाउँनै कार्यसमिति सदस्य नै राखेपमा पुगेका थिए । उनीहरुले जिल्ला र प्रदेशको निर्वाचनपछि मात्रै केन्द्रको निर्वाचन हुनुपर्ने माग राखेपसँग राखेका थिए ।
यता, एन्फाले भने राखेपको स्विकृत बिना नै निर्वाचन प्रक्रिया अगाडी बढाएको थियो ।
