काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र मौलाउँदै गएको चरम भ्रष्टाचार, शक्तिको दुरुपयोग र कुशासनका कारण नेपाली फुटबलको भविष्य संकटमा परेको भन्दै एन्फा पूर्व अध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ज्ञापनपत्र बुझाउने भएका छन् ।
पूर्व कप्तान थापाले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै एन्फाको गरिमा जोगाउन र भइरहेका गलत कार्यहरू रोक्नका आगामी आइतबार (पुस २०) गते ध्यानाकर्षण गराउने र ज्ञापनपत्र बुझाउने जानकारी गराएका छन् । कार्यक्रम बिहान ११ बजे त्रिपुरेश्वरस्थित राखेपको मुख्यालयमा हुने थापाले जानकारी गराए ।
उनले सिस्नेरी एकेडेमी घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मुख्य मुद्धा उठाएका छन् । पत्रमा भनिएको छ, ‘सिस्नेरी एकेडेमीमा भएको दुखद घटनामा ज्यान गुमाएका प्रतिभावान युवा फुटबलरहरूका परिवारलाई न्याय र दोषीलाई कारबाहीका लागि स्वतन्त्र छानबिनको माग,’ गरिनेछ ।
यस्तै, एन्फाले माघ २८ गते झापामा गर्ने निर्णय गरेको ‘अवैध साधारणसभा’ रोक्न माग गर्ने जानकारी गराइएका छन् । पत्रमा लेखिएको छ, ‘एन्फाले गर्न लागेको भनिएको विधान विपरीतको ‘अर्ली इलेक्सन’ रोक्न र वैधानिक प्रक्रिया अवलम्बन गर्न माग’ गर्ने तथा एन्फा सुदृढीकरण गर्न संस्था भित्रको आर्थिक अनियमितता र कुशासनको अन्त्य गरी शुद्धीकरण अभियान सुरु गर्नुपर्ने’ माग गर्ने जानकारी थापाले दिएका छन् ।
