काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको सेथु एफसीले भारतीय महिला लिगमा आज (शनिबार) गोकुलम केरेला एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।
कोलकत्ताको कल्याणी रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउसो पौने ३ बजे सुरु हुनेछ ।
अञ्जिलाको कप्तानीमा रहेको सेथु दोस्रो जितको खोजीमा छ । यसअघि टोलीले किकस्टार्सलाई २–१ ले हराएको थियो । दोस्रो खेलमा भने टोली साविक विजेता इष्ट बंगालसँग १–० ले पराजित भएको हो । टोली तीन अंकसहित पाँचौं स्थानमा छ ।
अञ्जिला यसपटक भारतीय लिग खेल्ने एक्ली नेपाली खेलाडी हुन् । उनलाई टिमले कप्तानी जिम्मेवारी पनि दिएको छ । अञ्जिला तेस्रो सिजन सेथुबाट खेल्दैछिन् ।

गोकुलम एक अंकसहित छैटौं स्थानमा छ । गोकुलम टोली पहिलो जितको खोजीमा छ । पछिल्लो खेलमा टोली श्रीभूमी फुटबल क्लबसँग ४–० ले पराजित भएको थियो । पहिलो खेलमा भने नीता फुटबल एकेडेमीसँग १–१ को बराबरी खेल्दै अंक बाढ्न बाध्य भएको थियो ।
गोकुलमले तीन पटक भारतीय लिगको उपाधि जितिसकेको छ । उसले सन् २०१९–२०, सन् २०२१–२२ र सन् २०२२–२३ को सिजन लिग जितेको हो । तर, त्यसपछिका दुई सिजनमा टोलीको प्रदर्शन कमजोर बन्दै गएको छ । पछिल्लो दुई सिजन क्रमशः उडिशा र इष्ट बंगालले उपाधि जितेका थिए ।
