काठमाडौं । एन्फा यु-१६ युथ लिगमा संकटा क्लब र मनाङ मर्स्र्याङ्दी क्लबले बिहीबारका खेलहरुमा जित हासिल गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा संकटा क्लबले त्रिभुवन आर्मी क्लबमाथि ४-० को सहज जित हासिल गर्यो । संकटाको जितमा करण भुलले ह्याट्रिक गरे । त्यस्तै एक गोल पेम्बा तामाङको नाममा रह्यो ।
त्यस्तै दिनको तेस्रो खेलमा मनाङ मर्स्याङ्दीले एपिएफ फुटबल क्लबलाई ३-० ले हरायो । मनाङको जितमा विवेक मगर, सकीन कुंवर र प्रकाश सिंहले गोल गरे ।
दिनको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले श्री भगवती क्लबविरुद्ध ४-१ को सानदार जित हासिल गरेको थियो ।
प्लानिङलाई जित दिलाउन ओम खड्काले दुई गोल गरे । त्यस्तै प्रशान्त तामाङ र प्रकाश बुढाथोकीको नाममा समान एक गोल रह्यो । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा अनिल गुरुङले गरेको गोल श्री भगवतीका लागि सान्त्वना बन्यो ।
