काठमाडौं । एन्फा यु–१६ युथ लिगमा मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी)ले फराकिलो जित हासिल गर्दा चर्च ब्वाइज युनाइटेडले पनि तीन अंक हासिल गरेको छ ।
बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलहरुमा मछिन्द्रले जावलाखेल युवा क्लबमाथि ५-० को सानदार जित हासिल गर्दा एनआरटीले सातदोबाटोलाई ९-३ ले हरायो । त्यस्तै चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबसँग ३-० को जित निकाल्यो ।
दिनको पहिलो खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अप्सन गुरुङ, सुनिल दंगल र आर्यन नेगीले गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

दोस्रो खेलमा सातदोबाटोले आर्यन भट्टको गोलमा एनआरटीसामू सुरुआती अग्रता लिएको थियो । एनआरटीका लागि सुनिल घर्तीमगरले ह्याट्रिक गोल गरे । त्यस्तै जेनिश घले, सुशान्त कुमार श्रेष्ठ, मौसम दाहाल, सुगम राना, प्रिन्स दुधराज बिक र अनमोल सुवेदीको नाममा समान एक गोल रह्यो । यसबीच सातदोबाटोका लागि सर्जकधोज थापाले अन्य दुई गोल आफ्नो नाममा लेखाए ।
दिनको तेस्रो खेलमा मछिन्द्रका लागि विकास थापाले दुई गोल गरे । त्यस्तै सुदीप ठकुरी, जनक बिक र करण धामीको नाममा एक गोल रह्यो । जितसँगै मछिन्द्र पुनः नेपाल पुलिस क्लबलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । २४ खेलमा मछिन्द्रले ५५ अंक जोडेको छ ।
