काठमाडौं। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नवौं संस्करणको भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म आयोजना गर्ने भएको छ ।
बिहीबार शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस स्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब गरी पाँच टोलीको सहभागिता रहने बताएको छ । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई नगद पांच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीलाई एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसंगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ। विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
पुरस्कार राशि मात्रै १३ लाख रुपैयाँ रहेको प्रतियोगिताको अनुमानित बजेट करिव ४० लाख रुपैयाँ छ । यसैगरी नवौ संस्करणको उद्घाटन समारोहका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिनेछ ।
