काठमाडौं । नेपाली क्रिकेटलाई विश्वकपको मञ्चसम्म डोर्याउने वरिष्ठ क्रिकेट प्रशिक्षक जगतबहादुर टमाटाको चार दशकभन्दा लामो खेलकुद सक्रियताको सम्मानस्वरुप शुक्रबार युवा तथा खेलकुद मन्त्रालयले उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यमा मनोनित गरेको छ ।
परिषदको रिक्त रहेको पाँच सदस्यको पदपूर्ति गर्ने क्रममा शुक्रबार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाली क्रिकेटका सदावाहर प्रशिक्षक टमाटासहित एथ्लेटिक्सका शान्तकुमार महता, तेक्वान्दोका कुमार लामा घिसिङ, रोजेश खड्का र प्रयास कार्कीलाई चार वर्षका लागि मनोनयन गरेका हुन् ।
डेढ दशकभन्दा लामो समयदेखि क्रिकेट प्रशिक्षण तथा त्यसको दुुई दशकअगाडिबाट खेलाडीका रुपमा सक्रिय हुँदै टमाटाले नेपाली क्रिकेटको जग हाल्न योगदान गरेका थिए ।
चार दशकभन्दा लामो समय खेलाडी तथा प्रशिक्षकको भूमिकामा रहेर निरन्तर नेपाली क्रिकेटको सेवा गर्ने क्रममा टमाटाले थुप्रै उपलब्धिहरु हासिल गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषदका पूर्व मुख्य क्रिकेट प्रशिक्षक टमाटाकै प्रशिक्षणमा सन् २०११ एसिसी यु–१९ कपमा नेपाल उपविजेता बन्दै एसिया कप र विश्वकपका लागि छनोट भएको थियो ।
नेपालले सन् २०१२ मा आइसिसी यु–१९ विश्वकप खेल्दा भने उनी सहायक प्रशिक्षक थिए ।
यस्तै, टमाटाकै प्रशिक्षणमा नेपालले सन् २०१५ को छनोटमा विजेता बन्दै सन् २०१६ को आइसिसी यु–१९ विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न उक्त विश्वकपमा नेपालले पहिलो पटक क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । १९ वर्षमुनिको टोलीले सन् २०२४ मा आइसिसी एकदिवसीय विश्वकप खेल्दा पनि टमाटा नै नेपालको प्रशिक्षक थिए ।
टमाटाले नेपालको पुरुष तथा महिला सिनियर टोलीको प्रशिक्षण पनि सम्हालिसकेका छन् । नेपालले सन् २०१८ मा एकदविसीय मान्यता प्राप्त गर्दा प्रशिक्षकको रुपमा नेपाली टिमको नेतृत्व टमाटाले नै गरेका थिए ।
उनी २०७८ सालमा नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने एनएसजेएफ स्पोर्टस अवार्डमा दशकको उत्कृष्ट प्रशिक्षकबाट समेत सम्मानित भएका थिए ।
पछिल्लो पटक टमाटाले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा टोलीले लगातार दोस्रो सिजन फाइनलसम्मको यात्रा तय गरेको थियो ।
यसैगरी उनले एभरेस्ट प्रियिमर लिगमा सगरमाथ लिजेन्ड्सको पनि प्रशिक्षण सम्हालेका थिए ।
