काठमाडौं । अखिल भारत फुटबल महासंघ (एआइएफएफ) ले खालिद जमिललाई पुरुष राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सुम्पिएको छ ।
जमिलले मानोलो मार्केजको स्थान लिएका हुन् । ‘एआइएफएफले खालिद जमिललाई भारतीय पुरुष राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ,’ महासंघले सामाजिक सञ्जालमा भनेको छ ।
तीन जनाको अन्तिम सूचिमा जमिलसहित भारतका पूर्व प्रशिक्षक स्टेफन कन्स्टेन्टाइन र स्लोभाकियाका स्टेफन टार्कोभिक पनि समावेश थिए ।
राष्ट्रिय टोली निर्देशक सुब्रत पालसँग परामर्शपछि एआइएफएफ प्राविधिक समितिले जमिललाई छनोट गरेको हो ।
भारतीय राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर जमिलले सन् २००९ देखि प्रशिक्षण करियर सुरु गरेका हुन् । जमिल पछिल्लो समय इन्डियन सुपर लिग (आइएसएल) को टोली जम्सेदपुर एफसीको जिम्मेवारीमा थिए ।
सन् २०२३ देखि जम्सेदपुरको प्रशिक्षक रहेका जमिलको कार्यकालमा टोलीले ४८ खेल खेल्दा २४ जित, ६ बराबरी र १८ हारको नतिजा निकाल्यो ।
यसैगरी उनले मुम्बई फुटबल क्लब, अइजोल, इस्ट बंगाल, मोहन बगान, नर्थ इस्ट युनाइटेड, बेङ्लुरु युनाइटेडको प्रशिक्षण सम्हालीसकेका छन् ।