काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करण पर्यटकीय राजधानी पोखरामा हुँदै छ । नौलो विषय पोखरामा अवार्ड आयोजना हुनु होइन, पहिलो पटक राजधानी बाहिर हुनु हो ।
नेपाली खेलकुदको प्रतिष्ठित र प्रतीक्षित खेलाडी सम्मानको कार्यक्रमको रूपमा स्थापित पल्सर स्पोर्टस अवार्डले दुई दशकको यात्रामा थुप्रै इतिहास रचिसकेको छ ।
एक करोडभन्दा बढी बजेट, युवा खेलाडीदेखि पारा खेलाडी अनि खेलकुद क्षेत्रका वरिष्ठ व्यक्तित्वलाई एउटै मञ्चमा सम्मानित गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको अभियानबाट दुई दशकमा खेलकुदका शीर्ष खेलाडीहरू पुरस्कृत भइसकेका छन् ।
पुरस्कारको दृष्टिकोणले मात्र होइन, समारोहको भव्यता र त्यसको चुस्त ब्यवस्थापनले स्पोटर््स अवार्ड देशको शीर्ष अवार्डमा गनिसकिएको छ । अवार्ड समारोहको क्रममा आयोजक मञ्चले नेपालका थुप्रै आधुनिक प्रविधि र शैलीलाई पनि सँगसँगै प्रस्तुत गर्नु अवार्ड समारोहको खास विशेषतामा पर्छ ।
काठमाडौँ बाहिर अवार्ड गर्दा सबैभन्दा पहिलो चुनौती भनेको आर्थिक भार ह्वात्तै बढ्नु हो ।
इन्डोर एलइडीको पहिलो प्रयोग, भव्य स्टेज, कोभिडको समयमा क्रोमाको प्रयोग गरी प्रत्यक्ष प्रसारण गर्ने जस्ता नौलो काम पल्सर स्पोर्टस अवार्ड समारोहमा देखिएको थियो ।
दुई दशकको यो यात्रामा आयोजकले स्पोर्टस अवार्डलाई किन काठमाडौँ बाहिर गएर आयोजना गर्ने योजना बनायो त ? जबकि पोखरामा यो अवार्डको आयोजना गर्नु भनेको काठमाडौंमा आयोजना गर्नुभन्दा खर्च दोब्बर हुनु, समय दोब्बर लाग्नु र चुनौती दोब्बर थपिनु हो ।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी भन्छन्, ‘हामीलाई थाहा छ कि काठमाडौं बाहिर आयोजना गर्दा चुनौती दोब्बर हुनेछ । तर हामीले अवार्ड कार्यक्रमलाई थप विशेष बनाउन र यसलाई देशव्यापी लैजाने अभियानको थालनी गर्न यो चुनौती सामना गर्न तयार भएका हौं ।’
चुनौती के के ?
काठमाडौँ बाहिर अवार्ड गर्दा सबैभन्दा पहिलो चुनौती भनेको आर्थिक भार ह्वात्तै बढ्नु हो । अहिले १ करोड रुपैयाँको बजेटमा आयोजना भइरहेको अवार्ड कार्यक्रम पोखरामा आयोजना गर्दा झन्डै आधा बजेट थपिने आयोजक पदाधिकारीहरू बताउँछन् ।
अध्यक्ष अधिकारी भन्छन्, ‘हामीले मनोनयनमा परेका खेलाडी, खेल पदाधिकारी, खेलकुद क्षेत्रका व्यक्तित्वहरू, विदेशी पाहुना, प्राविधिक र खेलकुद पत्रकार गरेर दुई सयभन्दा बढी व्यक्तिहरूलाई पोखरामा लैजान्छौं । अनि उनीहरूको यातायात, बसोबास र हस्पिटालिटीमा ठुलो रकम हामीले बेहोर्नु पर्छ ।’
पोखरामा अवार्ड आयोजनाको लाभान्वित हुने पक्ष भने पोखरा सहर र पोखराको खेलकुद नै हुनेछ । पोखराले १३ औं दक्षिण एसियाली खेलकुद (साग)लगायत ठुल्ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गरिसकेको छ ।
अर्को मुख्य चुनौती भनेको चाहिँ कार्यक्रमको भव्यता कायम राख्नु हो । त्यसमा मुख्यतः प्राविधिक विषयहरू पर्दछ ।
पोखरामा रहेको एकमात्र इन्डोर कार्यक्रम स्थल दीपेन्द्र सभागृह अहिले मर्मत गर्ने क्रममा रहेकाले अवार्ड पोखरा इभेन्ट सेन्टरमा हुँदै छ । त्यहाँ दर्शकको व्यवस्थापनदेखि अन्य प्राविधिक काम चुस्त दुरुस्त बनाउन पक्कै पनि चुनौती थपिने छ ।
यति ठूलो चुनौती स्वीकार्न किन आयोजक तयार भयो ? अध्यक्ष अधिकारी भन्छन्, ‘यही प्रश्न हाम्रो कार्यसमितिमा पनि उठेको थियो । हामी काठमाडौंमा स्थापित भइसकेको कार्यक्रमलाई मोटो बजेट आवश्यक पर्ने र प्राविधिक चुनौती लिएर किन जाने भन्ने विषयमा लामै छलफल चलेको थियो । तर यसले नेपाली खेलकुद र खेलाडीलाई प्राप्त हुने फाइदाले गर्दा पोखरा जाने निर्णयमा एकमत भयौं ।’

त्यसको उद्देश्यबारे अधिकारी थप्छन्, 'अवार्डलाई नयाँ स्वरूप दिन, अवार्डको गरिमा थप बढाउन र अवार्डको दायरा देशव्यापी रूपमा लैजाने ठूलो उद्देश्यका साथ हामीले यो चुनौती लिएका हौं । हामीलाई विश्वास छ, पोखरामा यसको सफल आयोजनाले देशका अरू प्रदेशमा पनि अवार्ड आयोजना गर्ने ढोका खोलिदिनेछ । जसले गर्दा खेलाडी सम्मान अभियानले देशभर स्थान पाउन सक्ने छ ।’
पोखरामा अवार्ड हुनुको अर्थ
पोखरामा अवार्ड आयोजनाको लाभान्वित हुने पक्ष भने पोखरा सहर र त्यहाँकाे खेलकुद नै हुनेछ । पोखराले १३औं दक्षिण एसियाली खेलकुद (साग)लगायत ठुल्ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गरिसकेको छ । खेलकुद पूर्वाधार निर्माणको हिसाबले याे काठमाडौंपछिको ठूलो खेलकुद सहर हो । यहाँ खेलकुदको संस्कार बलियो छ । खेलकुद क्षेत्रलाई माया गर्ने व्यक्ति थुप्रै छन् ।
मञ्चका अध्यक्ष अधिकारी खेलकुदका यी थुप्रै सकारात्मक ऊर्जा भएको सहर भएकाले अवार्ड आयोजना पोखरामा हुन सहज भएको बताउँछन् ।
मुख्य कुरा भनेको देशलाई चर्चित अन्तर्राष्ट्रिय खेलाडी पोखराले दिइसकेको छ, दिने क्रममा छ । पोखरामा अवार्ड हुनु भनेको पोखराको समृद्ध खेलकुद संस्कारको सम्मान पनि हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले स्पोर्ट्स अवार्डलाई पोखरामा स्वागत गर्दै अवार्डमा प्रवद्र्धकको भूमिकामा साथ दिएका छन् ।

मेयर आचार्य भन्छन्, ‘पोखरा यस्तो एउटा सहर हो, जहाँ साताभर नै सानाठूलो खेलकुद प्रतियोगिता निरन्तर रूपमा भइरहने गर्छ । प्याराग्लाइडिङ, ट्रायथलन जस्ता खेलका लागि पोखरा हब नै भयो । यस्तो ठाउँमा स्पोर्टस अवार्ड जस्तो कार्यक्रम हुनुलाई हामी स्वागत गर्छौं ।’
मञ्चका अध्यक्ष अधिकारी खेलकुदका यी थुप्रै सकारात्मक ऊर्जा भएको सहर भएकाले अवार्ड आयोजना पोखरामा हुन सहज भएको बताउँछन् । उनी थप्छन्, ‘अवार्ड आयोजनामा पोखरेली खेलकुदको योगदान झल्किनेछ । जसले पोखराको खेलकुदको गरिमा बढ्ने हामीलाई विश्वास छ ।’
पर्यटकीय सहर पोखराको सुन्दरतालाई अवार्ड आयोजनाको चहल पहलले थप टेवा दिनेछ । अर्को महिना पोखरामा देशका चर्चित खेलाडीहरूको जमघट हुनेछ, खेल व्यक्तित्वहरू पुग्नेछन्, अन्तर्राष्ट्रिय खेल पाहुनाहरू आउनेछन् । अन्तर्राष्ट्रिय अवार्डको मान्यता पाएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ ले पोखरेली खेलकुदको गरिमा बढाउने पक्का छ ।