काठमाडौं । टिपटो स्पोर्टस एकेडेमीको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित फुटबल प्रतियोगिताको सेमिफाइनल र फाइनल शनिबार हुने भएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै कर्णाली प्रदेशको जुम्लासम्म फैलिन सफल भएको चार वर्षे यात्राको स्मरण गर्दै एकेडेमीले तारकेश्वर-८ स्थित शेषमतीमा रहेको मुख्यालयमा गत शनिबार विशेष कार्यक्रमसहित वार्षिकोत्सव मनाएको थियो । सोही अवसरमा प्रतियोगिताको क्वार्टरफाइनलसम्मका खेल सञ्चालन भएका थिए ।
उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष विराटजंग शाही, राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह, महिला टोलीकी गोलकिपर तथा पूर्व कप्तान अञ्जिला तुम्बापो सुब्बा, अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामालगायतको उपस्थिति थियो ।

यु-८, १०, १२, १४ र १६ ब्वाइज र गर्ल्स विधा समावेश प्रतियोगितामा ४५ भन्दाबढि टोलीको सहभागिता थियो ।
टिपटोले हरेक ६-६ महिनामा यस्तो प्रतियोगिता आयोजना गर्दै आएको छ । यस पटक अभिभावका लागि पनि फुटबल खेल राखिएको थियो । जसमा ६० भन्दाबढिको सहभागिता थियो ।
हाल टिपटाे स्पोर्टस एकेडेमीका विभिन्न शाखामा गरी ३०० भन्दा बढि खेलाडीले नियमित प्रशिक्षण गरिरहेको नेपाली राष्ट्रिय फुटसल टोलीका पूर्व मुख्य प्रशिक्षक एवं एकेडेमीका अध्यक्ष गौरव बस्नेत जानकारी गराए । उनका अनुसार आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ७ बजेसम्म नियमित प्रशिक्षण भइरहेको छ । यसैगरी शनिबार भने सबै शाखामा दुई घण्टाको विशेष प्रशिक्षण सञ्चालन हुनेछन् ।

टिपटाे स्पोर्टस एकेडेमीका शाखारूमा हाल काठमाडौंमा ६ तथा जुम्लामा एक रहेको एकेडेमीका कार्यकारी प्रमुख (सिइओ) सुवास न्यौपानेले जानकारी गराए ।
न्यौपानेका अनुसार तारकेश्वर हिलेडोलको जिफोर फुटसल, तारकेश्वरकै पिपलडाँडा फुटबल मैदान, काठमाडौंको वशन्त नगरको मोनास्ट्री फुटसल, चुच्चेपाटीको भाटभटेनी फुटसल, कागेश्वरी मनोहराको मुलपानी फुटसल तथा जुम्ला बजारमा टिपटो अन्तर्गतका एकेडेमी सञ्चालित छन् ।
