काठमाडौं । फ्रेन्ड्स क्लबले एन्फा यु-१६ युथ लिगमा आइतबार विभागीय एपिएफ फुटबल क्लबविरुद्ध ३-१ को पुनरागमन जित दर्ता गरेको छ ।
जितसँगै ९ खेलमा १९ अंक जोडेको फ्रेन्ड्स दोस्रो स्थानमा उक्लिएको छ । पराजित एपिएफ समान खेलबाट १५ अंकका साथ छैटौं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा फ्रेन्ड्सलाई जित दिलाउन मन्दीप ढुंगेलले दुई र प्रभात बिसीले एक गोल गरे । एपिएफका लागि असिम खड्काले गोल गरे ।
खेलको आठौं मिनेटमा असिमको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । तर टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन ।
फ्रेन्ड्सले पाँच मिनेट भित्र तीन गोल गर्दै स्ष्ट तीन अंक जोडेको थियो । मन्दीपले ५७औं मिनेटमा पेनाल्टीमार्फत फ्रेन्ड्सलाई बराबरीमा ल्याए ।
प्रभातले ६०औं मिनेटमा गोल गर्दा फ्रेन्ड्स २-१ ले अगाडि बढ्यो । दुई मिनेटपछि नै मन्दीपले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।