काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा यु-१६ लिगमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।
पहिलो जितसँगै जावलाखेलले दुई खेलमा तीन अंक जोडेको छ । पराजय बेहोरेको आर्मीको पनि समान खेलबाट तीन अंक नै छ ।
पहिलो खेलमा आर्मीले हिमालयन शेर्पालाई पराजित गर्दा जावलाखेलले संकटासँग हार बेहोरेको थियो ।
सातदोबोटस्थित एन्फा मुख्यालय मैदानमा जावलाखेलललाई जित दिलाउन विशाल शाहीले दुई तथा प्रिन्स भुजेलले गोल गरे । आर्मीका लागि निरज अधिकारी र सोहित वाइबाले गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा विशालले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा प्रिन्सले टोलीको अग्रता दोब्बर बनाए ।
निरजले ७०औं मिनेटमा आर्मीका लागि गोल फर्काए । तीन मिनेटपछि नै सोहितले आर्मीलाई २-२ को बराबरीमा ल्याए ।
निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा विशालले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई रोमाञ्चक जित दिलाए ।