काठमाडौं । मछिन्द्र क्लबले एन्फा यु-१६ युथ लिगमा मंगलबार प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध ७-० को एकतर्फी जित दर्ता गरेको छ ।
लगातार दोस्रो जितसँगै मछिन्द्रले दुई खेलमा ६ अंक जोडेको छ । पहिलो हार बेहोरेको प्लानिङ ब्वाइजको समान खेलबाट तीन अंक छ ।
पहिलो खेलमा मछिन्द्रले एपिएफ तथा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लबलाई पराजित गरेका थिए ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन किरण धामी र समुन बमठकुरीले समान दुई तथा विकास थापा, राहुलकुमार योञ्जन र आर्यवीर सिंहले समान एक गाेल गरे ।
खेलको छैटौं मिनेटमा किरणको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ६ मिनेटपछि किरणले नै टोलीको अग्रता दोब्बर बनाए ।
सुमनले १९औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । दुई मिनेटपछि नै विकासले गोल गर्दा मछिन्द्रको अग्रता ४-० मा पुगयो ।
समुनले २४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । ३३औं मिनेटमा राहुलले गोल गर्दा मछिन्द्रले पहिलो हाफमै ६-० को अग्रता लिएको थियो ।
मछिन्द्रले सातौं गोलका लागि भने खेलको अन्त्यसम्म कुर्नुपरेको थियो । इन्जुरी समयमा आर्यवीरले गोल गर्दा मछिन्द्रले एकतर्फी जित निकाल्यो ।