काठमाडौं । मेक्सिकन क्लब मोन्टेरेले फिफा क्लब विश्वकपमा बिहीबार जापानको उरावा रेड डाइमन्ड्सविरुद्ध ४-० को सानदार जित दर्ता गरेको छ ।
पहिलो जितसँगै खेलमा पाँच अंक जोडेको मोन्टेरे समूह ‘इ’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ । तीनै खेलमा पराजित उरावा अंकविहिन बन्यो ।
यो समूहबाट इन्टर मिलान सात अंकका साथ विजेता बनेर अगाडि बढ्यो । रिभर प्लेट चार अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो ।
अमेरिकाको रोयज बोउलमा मोन्टेरेलाई जित दिलाउन जर्मन बर्टेरमले दुई तथा नेल्सन देओसा र जेसस म्यानुयल कोरोनाले समान एक गोल गरे ।
खेलको३०औं मिनेटमा देओसाको गोलमार्फत मोन्टेरेले अग्रता लिएको थियो । चार मिनेटपछि नै बर्टेरमले टोलीको अग्रता दोब्बर बनाए ।
कोरोनाले ३९औं मिनेटमा गोल गर्दा मोन्टेरेले पहिलो हाफमै ३-० को आरामदायी अग्रता बनाएको थियो । इन्जुरी समयमा बर्टेरमले व्यक्तिगत दोस्रो गोल गर्दै मोन्टेरेलाई ४-० को सानदार जित दिलाए ।
यही समूहको अर्को खेलमा इन्टर मिलानले रिभर प्लेटविरुद्ध २-० को जित दर्ता गर्यो ।
अन्तिम १६ मा मोन्टेरेले जर्मन क्लब बोरुसिया डर्टमन्डमको सामना गर्नेछ ।