काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि नेपालको टोली घोषणा भएको छ ।
नेपालका मुख्य प्रशिक्षक म्याट रोसले किरण चेम्जोङको कप्तानीमा सोमबार २३ सदस्यीय टोली घोषणा गरे । मिडफिल्डरद्वय कुशल देउवा र सृजनराज गौतमले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
कुशलले भर्खरै सम्पन्न सहिद स्मारक ‘बी’ लिगमा च्यासल युथ क्लबको प्रतिनिधित्व गरेका थिए । यसैगरी सृजनले पछिल्लो पटक संकटाबाट मोफसलका प्रतियोगिता खेलेका थिए ।
यसैगरी कुशलले नेपाली यु-२० टोलीको कप्तानी जिम्मेवारी सम्हालिसकेका छन् । शीर्ष डिभिजनको अनुभव लिइसकेका सृजनले बागमती युथ क्लबबाट ‘सी’ डिभजन लिग, विभागीय टोली नेपाल पुलिस क्लबबाट एन्फा यु-१८ युथ लिग खेलिसकेका छन् ।
टोलीमा नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका उदीयमान खेलाडी सन्तोष खत्री भने अटाएका छैनन् । उनले ललितपुर सिटीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नेपालले जुन ५ मा हङकङ तथा जुन १० मा लाओसको सामना गर्नेछ । राष्ट्रिय टोली मंगलबार हङकङ जानेछ र त्यहाँ मैत्रीपूर्ण खेल खेलपछि लाओस प्रस्थान गर्नेछ ।
नेपाली टोली
किरण चेम्जोङ ( कप्तान) , रोहित चन्द, जिलेस्पिजंग कार्की, अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक लिम्बु, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, दीप कार्की, कृतिशरत्न छिन्जु, कुशल देउवा, मणिकुमार लामा, विशाल सुनार, मनीष डाँगी, लाकेन लिम्बु, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ, सुमीत श्रेष्ठ