काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ ( साफ) यु-१९ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा शुक्रबार नेपालले साबिक विजेता बंगलादेशको सामना गर्दैछ ।
खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।
नेपाल समूह ‘बी’ को उपाविजेता तथा बंगलादेश समूह ‘ए’ को विजेतामा रूपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।
समूह चरणमा श्रीलंकाविरुद्ध ५-० को सानदार जित निकालेको नेपालले घरेलु टोली भारतसँग ४-० को फराकिलो हार बेहोरेको थियो । यता माल्दिभ्सँग २-२ को बराबरीमा रोकिएको बंगलादेशले भुटानलाई ३-० ले हराएको थियो ।
उमेर समूहको साफमा यी दुई टोली चार पटक आमने सामने भएका छन् ।जसमा नेपालले दुई र बंगलादेशले एक खेल आफ्नो पक्षमा पारेका छन् । एक खेल बराबरीमा सकिएको छ ।
गत संस्करण साफ यु-२० च्याम्पियनसिपको नाममा घरेलु मैदानमै भएको प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशसँग ४-१ को हार बेहोरेको थियो ।