काठमाडौं । स्पान्योलविरुद्ध २-० को जित निकाल्दै बार्सिलोना दुई खेल अगावै स्पेनिस ला लिगाको च्यााम्पियन बनेको छ ।
जितसँगै बार्सिलोनाले ३६ खेलमा ८५ अंक जोडेको छ । यो दोस्रो स्थानमा रहेको रियाल मड्रिडको भन्दा सात अंक बढि हो ।
यता पराजित स्पान्योल ३६ खेलबाट ३९ अंकका साथ १६औं स्थानमा छ ।
बिहीबार आरसिडिइ रंगशालामा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन लामिन यामल र फिर्मिन लोपेजले गोल गरे ।
खेलको ५३औं मिनेटमा यामलको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले ड्यानी ओल्मोको पासलाई पोस्टको दिशा दिए ।
लिआन्ड्रो क्याब्रेराले ८०औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडेपछि स्पान्योल १० खेलाडीमा समेटिएको थियो ।
इन्जुरी समयमा लोपेजले गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । उनले यामलको पासलाई सदुपयोग गरे ।
बार्सिलोना २८औं पटक स्पोनिस लिग च्याम्पियन बनेको हो ।
यसैगरी जारी सिजनमा बार्सिलोनाको यो तेस्रो घरेलु उपाधि हो । क्लब यसअघि स्पेनिस सुपर कप र कोपा डेल रेको च्याम्पियन बनेको थियो ।