ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ ।
गोदावरी-१० स्थिती गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा हुने प्रतियोगितामा हालसम्म काठमाडौ उपत्यकामका २१ मध्ये ११ पालिकाको सहभागिता निश्चित भएको आयोजका गोदावरी नगरपाललिकाले जानकारी दियो ।
प्रतियोगतामा सहभागी सबै टोलीको टुंगो मंलबारसम्म लाग्ने बताइएको छ ।
अहिलेसम्म काठमाडौंबाट कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली, तारकेश्वर नगरपालिका र काठमाडौ महानगरपालिका, ललितपुरका आयोजक गोदावरीसहित ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका, बागमती र कोन्ज्योसोम गाउँपालिका तथा भक्तपुरबाट चाँगुनारायण नगरपालिकाले सहभागीता जनाउने निश्चित भइसकेको छ ।
अघिल्लो संस्करणमा सहभागी भएका नागार्जुन नगरपालिक, शंकरापुर नगरपालिका र महांकाल गाउँपालिकाले भने यस पटक नखेल्ने भएका छन् ।
प्रतियोगिताको विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए ।
उनका अनुसार अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।