काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार आर्सनल र चेल्सीले जित निकाल्दा म्यानचेस्टर युनाइटेडले भने पराजय बेहोरेको छ ।
आर्सनलले घरेलु टोली इप्सविच टाउनविरुद्ध ४-० को सहज जित दर्ता गर्यो ।
जितसँगै ३३ खेलमा ६६ अंक जोडको आर्सनल दोस्रो स्थानमा छ । पराजित इप्सविच समान खेलबाट २१ अंकका साथ १८औं स्थानमा छ ।
पोर्टम्यान रोड रंगशालामा आर्सनलाई जित दिलाउन लियान्द्रो ट्रोसार्डले दुई तथा गाब्रियल मार्टिनेली र इथन न्वानेरीले समान एक गोल गरे ।
खेलको १४औं मिनेटमा ट्रोसार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । २८औं मिनेटमा मार्टिनेली टोलीको अग्रता दोब्बर बनाए ।
लिफ डेभिसले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ३२औं मिनेटमा इप्सविच १० खेलाडीमा समेटियो ।
ट्रोसार्डले ६९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा न्वानेरीले गोल गर्दै आर्सनललाई ४-० को सानदार जित दिलाए ।
अर्को खेलमा चेल्सीले फुलहमविरुद्ध २-१ को पुनरागमन जित निकाल्यो ।

जितसँगै चेल्सी ३३ खेलबाट ५७ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । पारजित फुलहम समान खेलबाट ४८ अंकका साथ नवौं स्थानमा छ ।
कार्भेन कटेज रंगशालामा पाहुना टोली चेल्सीका लागि टायरिक जर्ज र पेड्रो नेटोले गोल गरे । फुलहमका लागि एलेक्स इवोबीले गोल गरे ।
खेलको २०औं मिनेटमा इवोबीको गोलमार्फत फुलहमले अग्रता लिएको थियो । तर अन्त्य तिर सम्हालिन नसक्दा टोली पराजित हुन पुग्यो ।
जर्जले ८३ र नेटोले इन्जुरी समयमा गोल गर्दै चेल्सीलाई रोमञ्चक पुनरागमन जित दिलाए ।
यता युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमै उल्भरह्याम्पटनसँग १-० ले निरास बन्यो ।
यो नतिजासँगै दुवै टोलीको ३३ खेलबाट समान ३८ अंक भएको छ । तर गोल भिन्नताका कारण युनाइटेड १४ र उल्भरह्याम्पटन १५औं स्थानमा छन् ।

खेलको ७७औं मिनेटमा पाब्लो सराबियाले गरेको एकमात्र गोल उल्भरह्याम्टनलाई जित दिलाउन पर्याप्त बन्यो ।