काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले युइएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब आर्सनलविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।
मंगलबार अल्फ्रेडो डी स्टेफानो रंगशालामा घरेलु टोली रियाललाई जित दिलाउन लिन्डा काइसेडो र एथेनिया डेल कास्टिलोले गोल गरे ।
खेलको २२औं मिनेटमा काइसेडोको गोलमार्फत रियालले अग्रता लिएको थियो । उनले आर्सनलकी रक्षक लिया विलियमसनको गल्तीको फाइदा उठाइन् । सिग्ने ब्रुनले निकाल्न खेजेको थ्रु पासलाई विलियमसनले रोक्न नसक्दा काइसेडोले बल अगाडि बढाउँदै जाली चुमाइन् ।
निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा कास्टिलोले गो गर्दै रियाललाई सहज जित दिलाइन् । उनले क्यारोलिन वेयरको पासलाई बक्स बाहिरबाटै पोस्टको दिशा दिइन् ।
अब दोस्रो लेग आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा हुनेछ ।
मंगलबारै सम्पन्न अर्को खेलमा फ्रेन्च क्लब लियोनले जर्मनीको बायर्न म्युनिखविरुद्ध २-० कै जित निकाल्यो । बायर्न क्याम्पस स्पोर्टस कम्प्लेक्समा पाहुना टोली लियोनलाई जित दिलाउन तबिथ चाविंगा र मेल्ची डुमोर्नेले गोल गरे ।