काठमाडौं । युइएफए महिला च्याम्पियन्स लिगमा बार्सिलोनाले मंगलबार सेन्ट पोल्टेनविरुद्ध ७-० को फराकिलो जित निकालेको छ ।
जितसँगै तीन खेलमा ६ अंक जोडेको बार्सिलोना समूह ‘डी’ को दोस्रो स्थानमा छ । तीनै खेलमा पोल्टेन अंकविहिन छ ।
जोहान क्रुफ रंगशालामा घरेलु टोलीलाई जित दिलाउन क्लाउडिया पिनाले दुई तथा इवा पाजोर, किका नजारेथ, आइटान बोन्मती, कायरा वाल्स र क्यारोलिन ग्राहम हान्सेनले समान एक गोल गरे ।
बार्सिलोनाले पहिलो हाफको अन्तिम १३ मिनेटमै पाँच गोल गरेको थियो । दोस्रो हाफमा भने टोलीले दुई गोल मात्र थप्यो ।
खेलको ३२औं मिनेटमा पाजोरको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ६ मिनेटपछि नै नजारेथ टोलीको अग्रता दोब्बर बनाइन् ।
बोन्मतीले ४०औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरिन् । दुई मिनेटपछि नै वाल्सले गोल गर्दा बार्सिलोना ४-० ले अगाडि बढ्यो ।
पिनाले ४५औं मिनेटमा गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ५-० को फराकिलो अग्रता बनायो । ५२औं मिनेटमा पिनाले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् ।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा हान्सेनले गोल गर्दै बार्सिलोनालाई ७-० को फराकिलो जित दिलाइन् ।
यही समूहको अर्को खेलमा म्यानचेस्टर सिटीले ह्यामरबीविरुद्ध २-० को जित निकाल्यो ।
यसैगरी समूह ‘सी’ अन्तर्गतको खेलमा बायर्न म्युनिखले भ्लेरेङ्गा डामरलाई ३-० तथा आर्सनलले युभेन्टसलाई ४-० ले पराजित गरे ।