काठमाडौं । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यही अक्टोबर ७ सोमबार नेपाल भ्रमण गर्ने कार्यक्रम रद्ध भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)मा चरम विवाद रहेको र यही अवस्थामा नेपाल भ्रमण गर्दा आफू पनि त्यसमा संलग्न हुनुपर्ने लगायतका कारणहरुले इन्फान्टिनोको भ्रमण रद्ध भएको बताइएको छ ।
एन्फा स्रोतले जानकारी गराएअनुसार फिफा अध्यक्षको भ्रमण दौरान नेपाली फुटबल पदाधिकारीसँग छलफको एजेन्डा एन्फाले प्रष्टसँग पठाउन नसकेका कारण पनि फिफा असन्तुष्ट भइरहेको थियो ।
यसका साथै नेपालमा गत साता गएको बाढी पहिरोका कारण यहाँको अवस्था सहज नभएको कारण पनि इन्फान्टिनोले अहिलेको समय नेपाल भ्रमणका लागि उपयुक्त नरहेको ठहर गरेको बताइएको छ ।
गत साता तीन दिन परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर नेपालमा सयौं जनाको ज्यान गइसकेको छ । पहिरोमा पुरिएर एन्फाले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरिरहेको एकेडेमीमा रहेका ६ बालकको पनि ज्यान गएको थियो । एन्फाको लापरवाहीका कारण ६ अबोध बालकले ज्यान गुमाउनुपरेको भन्दै देशभित्र व्यापक आलोचना भइरहेको छ ।
फिफा अध्यक्ष इन्फान्टिनोको भ्रमण रद्ध भएपछि एन्फाले सोल्टी होटलमा उनीलगायत फिफा प्रतिनिधि मण्डलका लागि बुक गरेको कोठाहरु रद्ध गरेको जानकारी होटल स्रोतबाट प्राप्त भएको छ ।
भुटानको औपचारिक भ्रमणमा निस्कने क्रममा इन्फान्टिनोसहित १७ सदस्यीय फिफाको प्रतिनिधि मण्डलले १२ घण्टा काठमाडौंमा बिताउने कार्यक्रम थियो । निर्धारित कार्यक्रमअनुसार निजी बिमानमा इन्फान्टिनोको टोली यही अक्टोबर ७ तारिकमा बिहान ३ बजे काठमाडौं आइपुग्ने तालिका थियो ।
काठमाडौंमा १२ घण्टा बिताएपछि दिउसो ३ बजे इन्फान्टिनोसहितको टोली भुटान जाने कार्यक्रम थियो । भुटानमा इन्फान्टिनोले फिफा गोल प्रोजेक्टको निरिक्षण गर्ने र भुटानभित्र फुटबल विकासका लागि उच्चस्तरीय भेटघाट मार्फत योजना बनाउने कार्यक्रम छ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ भने बढी पहिरोका कारण देश शोकमा डुबिरहेको बेलामा इन्फान्टिनाेको भ्रमण उपयुक्त नभएकाले स्थगित भएको बताउँछन् ।
‘अहिले देश शोकमा डुबिरहेको छ । यस्तो अवस्थामा फिफा इन्फान्टिनाेलाई बोलाएर भ्रमण गराउनु उपयुक्त नलागेर रद्द गरेका हौं,’ अध्यक्ष नेम्वाङले भने, ‘अरु त्यस्तो केही कारण छैन । अवस्था सामान्य भएपछि उनलाई नेपाल भ्रमणमा ल्याउने प्रयास गर्नेछौं ।’