काठमाडौं । बुढानिलकण्ठ एफए र कुर्दान फुटबल एकेडेमीले बुधबारबाट सुरु भएको काठमाडौं जिल्लास्तरीय नकआउट/लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।
बुधबार पहिलो दिन बुढानिलकण्ठले जेएफए स्पोर्टस प्रालिमाथि २-० को जित हासिल गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो । शुक्रबार हुने क्वार्टरफाइनलमा बुढानिलकण्ठले समाजसेवा युथ क्लबसँग खेल्नेछ ।
यसैगरी बुधबारै कुर्दान फुटबल एकेडेमीले पेनाल्टी सुटआउटमा त्रिशक्ती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ ले निराश पार्दै अन्तिम आठको टिकट काटेको छ । निर्धारित समय ३–३ को बराबरीमा टुंगिएपछि खेल निर्णयार्थ पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
काठमाडौं जिल्लाभित्रका १२ टिम सहभागी प्रतियोगिता यही असोज १६ गतेसम्म चल्नेछ । काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा सानो गौचरण खेल मैदानमा जारी प्रतियोगितामा बिहीबार चित्लाङ एफसी र महांकाल एफसी तथा टिआइई फुटबल एकेडेमी र शान्त नेपाल समाजबीच खेल हुनेछन् ।
प्रतियोगिताको बुधबार आयोजक काठमाडौं जिल्ला फुटबल संघका महासचिव आकाश गुरुङ, प्रशिक्षक देवेन्द्रजंग शाही तथा सदस्यहरु काजी कन्दङ्वा र रुद्र मल्लले संयुक्त रुपमा उद्घाटन गरे ।