काठमाडौं । सर्वाधिक सफल टोली अमेरिकालाई १० ले हराउँदै उत्तर कोरियाले फिफा यु-२० महिला विश्वकपको फाइनलमा स्थान बनाएको छ । उत्तर कोरिया चौथो पटक यो प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।
अब, फाइनलमा उत्तर कोरियाले जापान र नेदरल्यान्ड्स मध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल आज राति हुँदैछ ।
कोलम्बियामा चलिरहेको विश्वकपको पहिलो सेमिफाइनलमा उत्तर कोरियालाई जित दिलाउन चोइ इ सनले गोल गरिन् । खेलभर अमेरिकाको तुलानामा उत्तर कोरियाले नै दबाब बनाएको थियो ।
यसअघि समूह ‘एफ’ मा रहेको उत्तर कोरियाले तीन मध्ये तीनै खेल जित्दै समूह विजेता बनेको थियो । उसले नेदरल्यान्ड्स, अर्जेन्टिना र कोस्टारिकालाई पराजित गरेको थियो ।
अन्तिम १६ मा अस्ट्रियालाई ५–२, क्वार्टरफाइनलमा ब्राजिललाई १–० ले नै पराजित गरेको थियो ।
२४ टिम सहभागी प्रतियोगितामा कुल ४९ खेल हुनेछन् । उच्च गोलकर्ताको दौडमा ब्राजिलकी भेन्डिटो, जापानकी माया हिजिकता र उत्तर कोरियाकी सन छन् । तीनै खेलाडीले समान पाँच गोल गरेका छन् ।
प्रतियोगिता उपाधि जर्मनी र अमेरिकाले समान तीन पटक जितेका छन् ।
सन् २००२ बाट सुरु भएको प्रतियोगितामा उत्तर कोरिया सन् २००६ र २०१६ को च्याम्पियन हो । सन् २००८ मा भने अमेरिकासँग २–१ ले पराजित हुँदा उपविजेता भएको थियो ।