काठमाडौं । सुदूरपश्चिम प्रदेशले एन्फा महिला लिगमा लगातार पाँचौं हार ब्यहोरेको छ ।
सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सुदूरपश्चिम वालिङ नगरपालिकासँग ५-१ ले पराजित भयो ।
जितसँगै पाँच खेलमा नौ अंक जोडेको वालिङ पाँचौं स्थानमा छ । पाँचै खेलमा पराजित सुदूरपश्चिम विना अंक पुछारमा छ ।
वालिङलाई जित दिलाउन भिओला नामुडुले ह्याट्रिक गर्दा ज्याकलिन नसाली र सुस्मा तामाङले समान एक गोल थपे । रितिका कार्कीले सुदूरपश्चिमका लागि एक गोल फर्काइन् ।
खेलको १८औं मिनेटमा नामुडुको गोलमार्फत वालिङले अग्रता लिएको थियो । ४२औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाइन् ।
तीन मिनेटपछि नामुडुले ह्याट्रिक पूरा गर्दा वालिङ ३-० ले अगाडि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा नसालीले टोलीका लागि चौथो गोल गरिन् ।
सुस्माले ५०औं मिनेटमा गोल गर्दै वालिङलाई ५-० को फराकिलो अग्रता दिलाइन् । ६२औं मिनेटमा रितिकाले गरेको गोल सुदूरपश्चिमका लागि सान्त्वाना बन्यो ।