काठमाडौं । कागेश्वरी मनोहरा उज्ज्वल तारा दौडको आठौं संस्करण यही असोज १२ गते शनिबार हुने भएको छ ।
उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गर्दै आएको प्रतियोगिता आठौं संस्करणमा पुगेपछि स्थानीय कागेश्वरी नगरपालिकाले आधा स्वामित्व लिएपछि यसपालिको दौडको नाम परिवर्तन भएर ‘कागेश्वरी मनोहरा उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ नामाकरण गरिएको छ ।
गत वर्षसम्म सात वटा विधा रहेको प्रतियोगितामा यसपालि विद्यालयका ८ र ९ कक्षाका विद्यार्थीहरु समेतले भाग लिन पाउने गरि यसपटक नौ विधा समावेश गरिएको छ ।
५ किलोमिटरको दौडमा ८ र ९ कक्षाको छात्र/छात्रा, खुला १८ वर्षभन्दामाथि उमेर समूहको महिला/पुरुष, अभिभावक पुरुष/महिला, युगल जोडी, ५५ वर्ष उमेरमाथि समूहको पुरुष/महिला विधामा प्रतिस्पर्धा हुनेछ ।
विजेतालाई विधा अनुसार नगद, ट्रफी, पदक र प्रमाणपत्रको साथै पोखरा, नगरकोट र चितवनका तारे होटेलमा एक रात खानेबस्ने सुविधा पाउनेछन् ।
सहभागीले नाम दर्ता शुल्क वापत ३५० रुपैयाँ तिर्नुपर्ने र त्यसबाट संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक बाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिने आयोजकले जानकारी दियो ।