काठमाडौं । नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिकाले सातौं ‘दुप्चेश्वर कप’ राष्ट्रव्यापी अन्तरस्थानीय तह खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मंगलबार गाउँ कार्यपालिकाको कार्यलय, समुन्द्रटारले सुचना जारी गर्दै प्रतियोगिता वैशाख २ देखि ५ गतेसम्म सञ्चालन हुने जानकारी गरायो ।
प्रतियोगिताको विजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले २ लाख २२ हजार २ सय २२ र तेस्रो हुनेले १ लाख ११ हजार १११ रुपैयाँ हात पार्नेछ । यसैगरी सान्त्वना पुरस्कार ५५ हजार रुपैयाँ तोकिएको छ ।
सर्वोत्कृष्ट खेलाडीले ११ हजार १ सय ११ रुपैयाँ पाउनेछ । त्यस्तै अन्य विधागत पुरस्कारहरु – उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताका सम्पूर्ण खेल वडा नं ६ रामतीस्थित दुप्चेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन प्रति टिम दर्ता ५ हजार रुपैयाँ तोकिएको छ ।
गाउँपालिकाले खेलकुदमार्फत सामाजिक सद्भाव र युवामा खेलप्रति आकर्षण बढाउने उद्धेश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
