काठमाडौं । नेपालका ‘ए’ र ‘बी’ टोलीले दक्षिण एसियाली फुटसल प्रतियोगिताको यु-१९ ब्वाइजतर्फ शनिबार दोहोरो जित निकालेका छन् ।
नेपाल विद्यालय खेलकुद महासंघ र प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाल ‘ए’ ले बंगलादेशलाई ५-२ तथा भारतलाई १८-१ गोलले पराजित गर्यो ।
सातदोबाटोस्थित आयोजक प्रिमियरको हातामा भएको प्रतियोगितामा नेपाल ‘बी’ ले भारतरिुद्ध १३-१ तथा बंगलादेशविरुद्ध ८-२ को फराकिलो जित निकाल्यो ।
प्रतियोगिताको उद्घाटन पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले गरे । सो अवसरमा आयोजक महासंघका अध्यक्ष विनोद श्रेष्ठ, महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्की, प्रिमियरकी एकेडेमिक डाइरेक्टर प्रविना थापा, आयोजक महासंघका उपाध्यक्ष मोहन कार्कीलगायतको उपस्थिति रहेको थियो ।
बंगलादेश विद्यालय खेलकुद महासंघ र दक्षिण एसियाली विद्यालय खेलकुद महासंघको सहयोगमा भएको प्रतियोगिताको ब्वाइजमा नेपालको दुई सहित चार टिम सहभागी छन् ।
यसैगरी यु-१७ गर्ल्समा मा नेपालको दुईसहित तीन टिम सहभागी छन् ।
लिग चरणमा एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।