काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु टोली साउथह्याम्पटनविरुद्ध ३-० को जित दर्ता गरेको छ ।
जितसँगै चार खेलमा ६ अंक जोडेको युनाइटेड सातौं स्थानमा उक्लिएको छ । चारै खेलमा पराजय ब्यहोरेको साउथह्याम्पटन विना अंक १९औं स्थानमा छ ।
सेन्ट म्यारिज रंगशालामा युनाइटेडलाई जित दिलाउन म्याथिस डी लिग्ट, मार्कस रासफोर्ड र अलेजान्द्रो गार्नाचोले गोल गरे ।
खेलको ३३औं मिनेटमा क्यामरुन आर्चर पेनाल्टीमा चुक्दा साउथह्याम्पटनले अग्रता लिने सुनौलो अवसर गुमायो ।
त्यसको दुई मिनेटपछि नै डी लिग्टको गोलमार्फत युनाइटेडले अग्रता लियो । उनले ब्रुनो फर्नान्डेसको पासलाई पोस्टको दिशा दिए ।
अमल दाइलोको पासलाई सदुपयोग गर्दै ४१औं मिनेटमा रासफोर्डले टोलीको अग्रता दोब्बर बनाए ।
ज्याक स्टेफन्सले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि ७९औं मिनेटमा साउथह्याम्पटन १० खेलाडीमा समेटियो ।
इन्जुरी समयमा गार्नाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए । उनले डियागो डालोटको पासलाई जाली चुमाए ।