काठमाडौं । एन्फा महिला लिगमा बिहीबार एक-अर्काको सामना गर्दा विभागीय टोली नेपाल एपिएफ क्लब र वालिङ नगरपालिका लगातार तेस्रो जितको लक्ष्यमा हुनेछन् ।
खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
एपिएफ तीन खेलमा सात अंकका साथ तेस्रो स्थानमा छ । यसअघि विभागीय प्रतिद्धन्द्ध नेपाली पुलिस क्लबसँग बराबरीमा रोकिएको एएिफले आर्मी र चन्द्रपुर नगरपालिकालाई पराजित गरेको थियो ।
यता वालिङ तीन खेलमा ६ अंकका साथ पाँचौं स्थानमा छ । यसअघि कोशी प्रदेशसँग हार ब्यहोरेको बालिङले कर्णाली प्रदेश र संकटा क्लबलाई पराजित गरेको थियो ।
यसैगरी मध्यान्ह १२:३० मा सुरु हुने दिनको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबको सामना गर्दैछ ।
तीन खेलका ६ अंकका साथ चौथो स्थानमा रहेको आर्मी तेस्रो जितको लक्ष्यमा छ । यसअघि संकटा क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको आर्मीले विभागीय प्रतिद्धन्द्धी एपिएफसँग हार ब्यहोरेको थियो ।
दोस्रो जितको लक्ष्यमा रहेको बागमती तीन खेलबाट तीन अंकका साथ सातौं स्थानमा छ । यसअघि सुदूरपश्चिमलाई पराजित गरेको बागमतीले कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबसँग हार ब्यहोरेको थियो ।