काठमाडौं । संकटाले एन्फा महिला लिगमा पहिलो जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार संकटाले कर्णाली प्रदेशलाई २-० ले पराजित गर्यो ।
जितसँगै चार खेलमा चार अंक जोडेको संकटा छैटौं स्थानमा उक्लिएको छ । लगातार तेस्रो पराजय ब्यहोरेको कर्णाली समान खेलबाट एक अंकका साथ नवौं स्थानमा छ ।
यसअघि त्रिभुवन आर्मी फुटबल क्लब र वालिङ नगरपालिकासँग हार ब्यहोरेको संकटाले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको थियो ।
यता चन्द्रपुरसँग बराबरी खेलको कर्णालीले वालिङ नगरपालिका र कोशी प्रदेशसँग हार ब्यहोरेको थियो ।
संकटालाई जित दिलाउन सेलिना एनिमा र टेमिलोप जेनिफरले गोल गरिन् ।
पहिलो हाफको इन्जुरी समयमा एनिमाले गोल गर्दै संकटालाई अग्रता दिलाइन् । ५५औं मिनेटमा जेनिफरले गोल गर्दै संकटालाई पहिलो जित दिलाइन् ।
सोमबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेशविरुद्ध ४-० को सहज जित निकाल्यो ।