काठमाडौं । एन्फा महिला लिगमा बुधबार विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेशविरुद्ध ४-० को सहज जित दर्ता गरेको छ ।
लगातार तेस्रो जितसँगै चार खेलमा १० अकं जोडेको पुलिस शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय ब्यहोरेको कोशी समान खेलबाट नौ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।
यसअघि विभागीय प्रतिद्धन्द्धी एपिएफसँग बराबरीमा रोकिएको पुलिसले सुदूरपश्चिम र बागमतीलाई पराजित गरेको थियो ।
यसअघि कोशीले वालिङ नगारपालिका, बागमती युवा क्लब र कर्णाली प्रदेशलाई हराएको थियो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ( एन्फा) मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन अनुष्का शेर्पा, मनिषा उपाध्याय, सम्झना लावती र अमृता जैसीले गोल गरे ।
खेलको २४औं मिनेटमा अनुष्काको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमै मनिषाले टोलीको अग्रता दोब्बर बनाइन् ।
सम्झनाले ७९औं मिनेटमा पुलिसका लागि तेस्रो गोल गरिन् । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा अमृताले गोल गरेपछि पुलिस ४-० ले विजयी भयो ।