काठमाडौं । कप्तान लियोनल मेसीबिना विश्वकप २०२६ छनोट खेलेको अर्जेन्टिना कोलम्बियासँग २-१ ले पराजित भएको छ ।
घरेलु मैदानमा बुधबार बिहान भएको खेलमा कोलम्बियालाई जिताउन जेम्स रोड्रिग्वेज र यर्सन मस्क्वेराले गोल गरेका थिए । अर्जेन्टिनाको लागि निकोलास गोन्जालेजले एक गोल फर्काए ।
अमेरिकी छनोटमा दोस्रो हार बेहोरे पनि अर्जेन्टिना शीर्षस्थानमा यथावत छ । ८ खेलबाट टोलीले ६ जितसहित १८ अंक जोडेको छ । चौथो जित निकालेको कोलम्बिया १६ अंकसहित दोस्रो स्थानमा उक्लियो । १५ अंकसहित उरुग्वे तेस्रो स्थानमा छ ।
कोलम्बियाविरुद्ध लौटारो मार्टिनेज, जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, लेसान्द्रो पराडेज, रोड्रिगो डि पाउल र एलेक्सिस म्याक एलिस्टरले गोलको अवसर बनाए पनि सदुयोग गर्न सकेनन् ।
खेलमा अग्रता घरेलु टोली कोलम्बियाले नै लिएकाे थियाे ।२६औं मिनेटमा रोड्रिग्वेजकै पासमा यर्सनले गोल गरे । गोन्जालेजले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै बराबरी गोल गरेका थिए ।
रोड्रिग्वेजले ६०औं मिनेटमा पेनाल्टीमार्फत गाेल गर्दै काेलम्बियालाई राेमाञ्चक जित दिलाए ।