काठमाडौं । हरितालिका तिज नेपाली हिन्दु महिलाले निक्कै भक्तिका साथ मनाउने चाढ हो । पानी समेत नपिइकन निराहार ब्रत बस्छन् ।
हिन्दु महिलाको यही आस्थाका कारण तिजको दिन सबै सरकारी, गैह्रसरकारी र निजी कार्यालयहरुमा महिलालाई अनिवार्य विदा दिइन्छ । तर नेपाली फुटबलको सर्वोच्च निकायले तिजको दिन महिला लिगमा दुई खेल राखेको छ ।
आज तिजको दिन सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्ह १२ः३० बजे संकटा क्लबले चन्द्रपुर नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेल सोही मैदानमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच ४ः१५ बजे हुनेछ ।
तिजको दिन खेल राखेकोमा खेलाडी रुष्ट बनेका छन् । आजको खेलमा मैदान उत्रिने तयारीमा रहेकी एक खेलाडीले तिजको दिन महिलाको खेल राखेर एन्फाले हिन्दु महिलाको भावनामाथि खेलवाड गरेको बताइन् ।
‘आजको दिन ब्रत बस्नुपर्ने थियो । तर एन्फाले खेल राखिदियो । ब्रत बसे खेल्न सकिन्न । खेले ब्रत बस्न सकिन्न । आज सबै सरकारी कार्यालय र स्कुलहरु समेत बिदा हुन्छन्, तर एन्फाले चाँही फुटबल राखेर हाम्रो भावनामाथि खेलवाड गर्यो,’ खेलाडी डटकमलाई म्यासेन्जरमा ती खेलाडीले लेखेकी छिन्, ‘टिमका सबैजसो खेलाडीहरु आज तिजको दिन मन्दिर जाने, रमाइलो गर्ने मौका नपाएकोमा निक्कै निराश छन् । हाम्रो टिममात्र होइन, अरु टिमका दिदीहरुले पनि दुःख मान्दै हुनुहुन्थ्यो ।’