काठमाडौं । मोफसलका दुई क्लब आरसी ३२ फुटबल एकेडेमी र बागमती युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन् ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुल्चोक स्पोर्टस क्लब सानेपासँग २-१ ले पराजित भएपछि आरसी ३२ र बागमती एक खेल अगावै सहिद स्मारक ‘सी’ डिभिजन लिगबाट बढुवा भएका हुन् ।
सर्लाहीको बागमतीको ११ खेलबाट २६ अंक छ । बागमतीले अझै दुई खेल खेल्न बाँकी छ । सुर्खेतको आरसी ३२ ले १२ खेलबाट २३ अंक जोडेको हो । दुबै क्लब पहिलो पटक ‘बी’ डिभिजनमा बढुवा भएका हुन् । बागमती भने एकै पटक बढुवा भयो । आरसी ३२ ले दुई सिजन ‘सी’ डिभिजन लिग खेल्यो ।
त्रिकोणात्मक प्रतिस्पर्धामा रपराजित भएपछि १२औं चरणमा पुल्चोकको उपाधि जित्ने सम्भावना समाप्त भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आरसी ३२ लाई दुई खेलमा जरिवानासहित चार अंक खोसेपनि बढुवा हुन सफल भयो । एन्फाले नियमविपरित खेलाडी अनुबन्ध गरेर खेलाएको भन्दै आरसीको दुई खेलको नतिजा उल्टाएको थियो ।
मंगलबार नै भएको खेलमा आरसी ३२ ले रानीवन स्पोर्टस क्लबलाई ५-० ले हराएको थियो ।