सहिद स्मारक लिग

अनिल अनि ऊर्जावान मछिन्द्र

तीन दशकसम्म ‘बी’ डिभिजनमा संघर्ष गरेर माथिल्लो डिभिजनमा उक्लिएपछि पनि सुरुआती वर्षहरू मछिन्द्र क्लबका लागि सहज भएन । शीर्ष डिभिजनमा उक्लिएको पहिलो वर्ष नै टोली रेलिगेसनको चरम दबाबमा थियो । एउटा विवादास्पद खेल नतिजाको भरमा मछिन्द्रले त्यो वर्ष शीर्ष डिभिजनको हैसियत जोगाएको थियो ।  

काठमाडौंको मुटु मछिन्द्रबहालको सामुदायिक क्लब रैथाने फुटबलप्रेमीको भावनामा संघर्ष गर्दै अघि बढ्ने प्रयासमा थियो । जसोतसो संघर्षमै ५ वर्ष बिते । एउटा यस्तो दिन आयो, जहाँ मछिन्द्रबहालका स्थानीयले प्यारो खेल फुटबलबाट हात उठाउने पीडादायी निर्णयका लागि छलफल अघि बढाए ।

‘यसरी फुटबल थेग्न सकिन्न । सधैं घाटामा गएर फुटबल खेल्नुभन्दा बरू सामाजिक काममै मात्र केन्द्रित होउँ,’ क्लबको बैठकमै यस्तो प्रस्ताव आयो । त्यसमाथि छलफल चलिरहँदा अब कतै मछिन्द्र फुटबलबाट बिदा हुने त होइन भन्ने जस्तो माहौल बन्न थाल्यो । जुन कुरा त्यतिखेर ३५ वर्षको उमेरमा रहेका एक जुझारू युवालाई चित्त बुझेन । अनि त्यो युवाको फुटबलप्रेम बोल्यो, ‘होइन सकिन्छ । किन नसक्नु ? फुटबल खेल्नैपर्छ र त्यो पनि पूरा जोसका साथ, मछिन्द्रबहालको इज्जत थेग्ने गरी ।’

‘हामी सक्दैनौं, तिमी जिम्मा लिन्छौं त ?’ क्लब पदाधिकारीहरूबाट आएयो यो प्रस्तावलाई अनिल श्रेष्ठले जोसमै स्विकारे, ‘म जिम्मा लिन्छु ।’

२०७० सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगभन्दा अगाडिको कुरा थियो यो । क्लबको बैठकबाटै निर्णय गराएर अनिलले फुटबलको सम्पूर्ण जिम्मा लिए । लिगका लागि क्लबले उनलाई २० लाख रुपैयाँ दिने, बाँकी सबै अनिल आफैंले व्यवस्था गरेर टिम बनाउने, अभ्यास गराउने र सहभागिताको व्यवस्था गर्नुपर्ने सर्तमा सहमति भयो ।

फुटबलमा व्यावसायिकताका चर्का नारा र भाषण छाँट्नेहरूले माइकअगाडि घोक्रो सुकाउने क्रमलाई वर्षौदेखि निरन्तरता दिइरहेका थिए । तर काठमाडौंको फुटबल संस्कारमा जन्मेहुर्केका अनिल भने वास्तविक अर्थमा यो प्यारो खेलमा व्यावसायीकरणको अभ्यास गर्दै थिए । धेरैको नजरमा ठूलो जोखिम मोल्दै थिए उनी । किनकि उनले फुटबलमा लगानी गरेका थिए । लगानी भनेपछि नाफा कमाउने प्राथमिक उद्देश्य हुने नै भयो । लगानी गलत ठाउँमा पर्‍यो वा सही व्यवस्थापन गर्न सकिएन भने घाटामा जाने जोखिम त्यत्तिकै थियो ।

फुटबल नखेली हुर्कनै नसक्ने काठमाडौंको संस्कार थियो त्यो बेला । २०३० र ०४० को दशकसम्म पनि हरेक काठमाडौंवासीको मनोरञ्जनको सबैभन्दा प्रिय माध्यम फुटबल हुने गर्थ्यो । प्रायः हरेक व्यक्तिले आफ्नो क्षमताअनुसार स्कुल, कलेज, टोल, क्लब वा राष्ट्रिय टिमसम्म फुटबलको यात्रा गथ्र्यो । फुटबल खेल्नु हरेकका लागि अनिवार्य विषय जस्तै थियो ।

अनिल पनि त्यही माहौलमा हुर्केका थिए । स्कुल जाने समयबाहेक अरू बेला टोलका सिनियर दाइ र साथीहरूसँगै मछिन्द्रबहालको घरबाट मुस्किलले ५ मिनेटको दुरीमा रहेको टुँडिखेलमै बास हुन्थ्यो । स्कुलस्तरमा उनी राम्रा खेलाडी थिए । व्यावसायिक फुटबल खेल्ने रहर टोलका सिनियर दाइहरूले नपत्याउँदा धित मर्ने गरी पूरा गर्न पाएका थिएनन् । मछिन्द्रबाट ‘बी’ डिभिजनमा केही समय खेल्नु नै खेलाडीका रूपमा उनको करियरको उत्कर्ष थियो ।

‘आफूले रहर पूरा गर्ने गरी खेल्न नपाए पनि फुटबल व्यवस्थापनमा उदाहरणीय काम गर्छु भन्ने अठोट थियो । त्यो मैले मछिन्द्र क्लबको जिम्मेवारी लिएर फुटबल व्यावसायिक रूपमा चल्न सक्छ भन्ने प्रमाणित गरिदिएँ,’ खेलाडी डटकमसँगको फुटबल वार्तामा अनिल सधैं घाटामा गएको बहाना गरिरहेका सामुदायिक क्लबका पदाधिकारीलाई घचघच्याउँदै थिए, ‘इमान्दारी, प्रतिबद्धता, लगन र भिजन भयो भने नेपालमा क्लबहरू फुटबल खेलेर घाटामा जानुपर्दैन । बरू करोडौं नाफा गर्न सकिन्छ ।’

अनिललाई यसो भन्ने पूरा हक थियो, छ । किनकि उनले आर्थिक समस्याका कारण फुटबललाई प्रमुन प्राथमिकताबाटै हटाउनेसम्मको निर्णय लिन लागिसकेको क्लब सम्हालेर ठूलो रकम नाफा गरेका थिए ।

त्यसो त ‘बी’ डिभिजनमा २८ वर्षसम्म संघर्ष गरिरहँदा पनि टोलवासीमा एकखाले निराशा उत्पन्न भइसकेको थियो । चरम निराशाको त्यो तीन दशक लामो मछिन्द्रबहालको नियतिलाई उत्साहमा बदल्ने कामको नेतृत्व पनि यिनै युवाले लिएका थिए । ‘बी’ डिभिजनको अन्तिम वर्ष उनैले टिम जिम्मा लिएर जोसिलो नेतृत्वका साथ शीर्ष डिभिजनको गन्तव्य दिलाएका थिए ।

सधैं घाटामा जाने फुटबल क्लब चलाएर अनिलले कसरी झन्डै आधा करोड रुपैयाँ कमाए त ?

‘त्यो वर्ष हामीले कुनै पनि सुपरस्टार खेलाडी अनुबन्ध गरेनौं । विशाल राई, कर्ण लिम्बु, देवेन्द्र तामाङहरू जस्ता त्यो बेलाका औसत खेलाडी लिएर टिम बनायौं । हामीले एउटा लक्ष्य बनाएर त्यहीअनुसार टिम बनाएका थियौं । उत्ताउलो भएर खर्च गरेनौं । अत्यावश्यक ठाउँमा चाहिँ कञ्जुस्याइँ पनि गरेनौं । तर पारदर्शिता अपनायौं । स्पष्ट योजना र भिजनसहित प्रायोजककहाँ गयौं । प्रायोजकहरूलाई कन्भिन्स गर्‍यौं । मर्चेन्टाइजिङका सामान्य प्रयास पनि गर्‍यौं । मैले फुटबल जिम्मा लिएर नाफा कमाउनुमा कुनै जादु गरेको होइन । जुन नगरी नहुने काम थियो, त्यही गरेको हुँ,’ धेरै नेपाली क्लबहरूले असम्भव रूपमा बयान गरेको क्लब नाफामा लाने काम सहजै पूरा गर्दाको रहस्य अनिलले सुनाए ।

अनिलका अनुसार त्यो वर्ष उनले लिग खेल्नका लागि क्लबबाट २० लाख रुपैयाँ पाएका थिए । त्यसमा मुख्य प्रायोजक एनएमबी बैंकबाट १५ लाख रुपैयाँ आएको थियो । बाँकी अन्य साना प्रायोजक र सामान्य मर्चेन्टाइजिङबाट टिम तयारी तथा सहभागितामा भएको ५५ लाख रुपैयाँको खर्च उठ्यो । लिगमा दोस्रो भएवापत एन्फाबाट आएको ४५ लाख पुरस्कार चोखो फाइदा भयो ।

अनिलले फुटबल व्यवसायका लागि व्यक्तिगत रूपमा जोखिम मोल्दै अरूका लागि पथ–प्रदर्शकको काम गरे पनि नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) व्यावसायिक थिएन । एन्फाका लागि व्यावसायिकता भन्ने शब्द पब्लिक खपतको एउटा उपयोगी नारामात्र थियो । प्रतियोगिता गराए पनि एन्फाले पुरस्कारवापतको रकम समयमा नदिँदा अनिल र मछिन्द्रले तीन वर्ष पीडा बेहोर्नुपर्‍यो ।

तीन वर्षसम्म दोस्रो भएवापतको पुरस्कार पाउनै उनी र क्लबका पदाधिकारीले एन्फासँग संघर्ष गर्नुपर्यो । त्यही कारण क्लबले २०७१–७२ को राष्ट्रिय लिगमा समेत सहभागिता जनाएन । सहिद स्मारक लिगकै पुरस्कार रकम नपाएपछि राष्ट्रिय लिगलाई थप लगानी गर्ने मूर्खता क्लबले गरेन । अनिलले पनि यस्तो अव्यावसायिक एड्भेञ्चरमा सहभागी नहुने निर्णय लिए ।

राष्ट्रिय लिग नखेले पनि अनिलले बनाएको मजबुत आधारको उत्साहमा मछिन्द्रले शीर्ष डिभिजनमा उच्च उडानलाई त्यसयता कायम राख्दै आएको छ । कुनै बेला सामान्य टिम बनाएर हैसियत जोगाउने संघर्षका लागि आर्थिक जोहो गर्न मुस्किल पर्ने क्लब अहिले नेपाली फुटबलको सबैभन्दा ऊर्जावान टोलीका रूपमा स्थापित भइसकेको छ ।

नेपाली फुटबलको महारथी बन्ने सपना देखेको टोलीले त्यसका लागि बलियो आधार निर्माण अभियान सुरु गरिसकेको छ । यसबीचमा मछिन्द्रले एकपल्ट सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेको छ । दुई वर्षअघिको विजेता मछिन्द्रले गत वर्ष कोभिड १९ महामारीका कारण लिग नहुँदा उपाधि रक्षा अभियानका लागि थप एक वर्ष कुर्नुपर्यो ।

शुक्रबार दशरथ रंगशालामा सुरु भएको लिगमा कागज हेर्ने हो भने मछिन्द्रले सजिलैसँग उपाधि रक्षा गर्ने अनुमान गर्न सकिन्छ । ‘तर फुटबलमा कुनै पनि कुरा निश्चित हुँदैन । हाम्रो लक्ष्य उपाधि रक्षा नै हो । हामी नेपाली फुटबलको महारथीका रूपमा स्थापित हुन चाहन्छौं । त्यसका लागि निरन्तर लिग जित्न सक्नुपर्छ । नजिते पनि देशभित्र हुने सबै प्रतियोगिताको सदाबहार दाबेदारका रूपमा आफूलाई उभ्याउन सक्नुपर्छ,’ क्लबको उपाध्यक्षसमेत रहेका अनिल भन्छन् ।

२०७० सालमा आफूले फुटबल जिम्मा लिएर दोस्रो स्थान हासिल गर्दै आर्थिक नाफा कमाएपछि उत्साही अनिलले दुई वर्षअघिको लिगमा पनि क्लबसँग टिम मागेका थिए । उनले क्लबसँग टिमको जिम्मा लिएवापत २५ लाख रुपैयाँ मागेका थिए । तर यसपालि क्लबले नै व्यवस्थापन गर्ने निर्णय गर्यो । जसमा क्लब पदाधिकारीका रूपमा अनिलको पनि जिम्मेवारी थियो ।

तर अहिले मछिन्द्र क्लबअन्तर्गत फुटबल हेर्ने गरी मछिन्द्र फुटबल क्लब नामको अर्को संस्था जन्म भइसकेको छ । मछिन्द्र क्लबले सामाजिक काम गर्ने, मछिन्द्र फुटबल क्लबले चाहिँ फुटबल खेल्ने । त्यही नयाँ संस्थाको नाममा मछिन्द्रले एएफसीको क्लब लाइसेन्स पनि प्राप्त गरिसकेको छ ।

फुटबललाई व्यावसायिक बनाउने अभियानको साँचो अर्थमा नेतृत्व गरेका अनिलकै अगुवाइमा मछिन्द्र फुटबल क्लब प्रालि पूर्ण व्यावसायिक बन्ने बाटोमा छ । मछिन्द्र क्लबले निजी कम्पनीलाई फुटबल क्लबको ५० प्रतिशत सेयर बेच्ने प्रक्रिया सुरु गरिसकेको अनिल बताउँछन् ।

‘केही दिनमै हामी सेयर बिक्रीको प्रक्रिया पूरा गरेर जानकारी सार्वजनिक गर्नेछौं । त्यसपछि मछिन्द्र फुटबल क्लबको ५० प्रतिशत स्वामित्व मछिन्द्र क्लबमा रहन्छ, ५० प्रतिशत निजी कम्पनीमा जानेछ,’ अनिलले भने ।

क्लबलाई पूर्ण व्यावसायिक संस्थामा रूपान्तरण गर्ने अभियानमा रहँदा मछिन्द्र अहिले नेपालमै सबैभन्दा बढी व्यवस्थित क्लबका रूपमा स्थापित भएको उनी दाबी गर्छन् । ‘हामीले खेलाडीलाई सुविधासम्पन्न होटलमा राखेका छौं । राम्रो रेस्टुरेन्टमा खानपिनको व्यवस्था मिलाएका छौं । खेलपोसाक, पारिश्रमिक र अन्य सुविधामा पनि कुनै कञ्जुस्याइँ गरेका छैनौं । नेपालका कुनै पनि क्लबले हामीले जति सुविधा दिएका छैनन् जस्तो लाग्छ,’ अनिलको दाबी छ ।