नेपाली फुटबल

धनगढी र बुटबल लुम्बिनी प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको प्रि– सिजनमा आज (शनिबार) साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताअघि दुई टोलीले रुपन्देहीको टेक्निकल सेन्टरमा मैत्रीपूर्ण खेल खेल्न लागेको हुन् । खेल दिउसो ३ बजे सुरु हुनेछ ।

यसैगरी मंसिर चार गते दोस्रो खेल हुनेछ । ‘यस खेललाई प्रि–सिजनको तयारी रुपमा लिएका छौं,’ बुटवल लुम्बिनीले विज्ञप्तीमा भनेको छ ।

बुटवल लुम्बिनी एफसीले विगत दुई सातादेखि बुटवलमा प्रशिक्षण गरिरहेको छ । धनगढी एफसी मंसिर १ गते बुटवल आएको हो ।  

‘बुटवल लुम्बिनी फुटबल क्लबले भविष्यमा ‘होम एण्ड अवे’को अवधारणाको प्रयासका लागि यस खेलेको आयोजना गर्न लागेको हो,’ क्लबले भनेको छ, ‘सम्पूर्ण तयारी पुरा गरिसकेका छौं । विदेशी र नेपाली खेलाडीको अनुबन्ध समेत भइसकेको छ ।’

साविक उपविजेता धनगढी पहिलो संस्करणको भेटमा बुटवल लुम्बिनी एफसीसँग १–० ले पराजित भएको थियो ।