काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कोलानीले उरुग्वेसँगको हारपछि मेसी पनि कहिलेकाहीँ हार्ने प्रतिक्रिया दिएका छन् । स्कोलानीले विश्वविजेता भएको भन्दैमा अर्जेन्टिना संधै अपराजित नरहने प्रतिक्रिया दिएका हुन् ।
कतार विश्वकपको पहिलो खेलमा अप्रत्याशित हार ब्यहोरेयता अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा अपराजित थियो । तर, त्यो यात्राको बिहीबार अन्त्य भएको छ । फिफा विश्वकप २०२६ छनोट खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० ले पराजित भएको हो ।
भ्रमणकारी टोली उरुग्वेले खेलको दुबै हाफमा समान एक गोल गरेको थियो । खेलको ४१औं मिनेटमा रोनाल्ड अरौजोले अग्रता दिलाए । खेल सकिँन तीन मिनेट बाँकी रहँदा डार्विन नुनेजले काउन्टर अट्याकमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका हुन् ।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै स्कालोनीले उरुग्वे जितको हकदार भएको र विश्वविजेता हुँदैमा सबै खेल जित्नैपर्ने नरहेको बताए ।
‘फुटबलमा जित र हार दुवै हुन्छन् । हामीले आफ्नो विपक्षीलाई सम्मान गर्नुपर्छ । विश्वविजेता भएकोमा हामी संधै जित्छौं भनेर सोच्नुहुन्न । मेसीले पनि कहिलेकाहीँ हार्छन् । हामीले हारमा पनि समर्थकको साथ पाएका छौं । आशा छ, आउने दिनमा पनि यस्तै माया पाउनेछौं, ’ स्कोलानीले भने ।
महादेशीय तालिकाको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले मंगलबार चिरप्रतिद्धन्द्धी ब्राजिलको सामना गर्नेछ । ब्राजिलले पनि बिहीबार कोलम्बियासँग २–१ को अप्रत्याशित हार ब्यहोरेको थियो ।