काठमाडौं । भारतले फिफा विश्वकप २०२६ छनोट खेलमा घरेलु टोली कुवेतलाई १–० ले हराएको छ ।
घरेलु मैदानमा कुवेत अन्तिम समय १० खेलाडीमा सिमित बनेको थियो । फैसल जाइद अल हार्बी दोहोरो पहँलो कार्ड पाउँदै इन्जुरी समयमा मैदान छाडेका थिए ।
यसअघि पहिलो हाफमा गोलरहित बराबरीमा समाप्त हुँदा भारतले ७५औं मिनेटमा गोल गरेको थियो । मानबीर सिंहले भारतको लागि विजयी गोल गरे । उनले लालिन्जुअला छान्ग्टेको पासमा गोल गरेका हुन् ।
समूह ‘ए’ कै अर्काे खेलमा कतारले अफगानिस्तानलाई ८–१ ले हराएको छ । कतारको जितमा अल्मोइज अलीले चार गोल गरे ।
जितपछि भारत र कतारले समान तीन अंक जोडेका छन् । कुवेत र अफगानिस्तानले हारबाट छनोट सुरु गरे ।
यता, विश्वकप छनोट खेलमा नेपाल युएईसँग ४–० ले पराजित भयो । दक्षिण एसियाली टोली बंगलादेश अस्ट्रेलियासँग ७–० र पाकिस्तान साउदी अरेबियासँग ४–० ले नै पराजित भयो ।