काठमाडौं । फिफा विश्वकप २०२६ छनोट खेलमा साविक विजेता अर्जेन्टिना उरुग्वेसँग २–० ले पराजित भएको छ ।
शुक्रबार बिहान घरेलु मैदानमा लियोनल मेसीको कप्तानीमा उत्रिएको अर्जेन्टिना फिनिसिङमा चुकेको थियो । कतार विश्वकप जितेपछि अर्जेन्टिना पहिलो पटक पराजित भएको हो ।
भ्रमणकारी टोली उरुग्वेले खेलको दुबै हाफमा समान एक गोल गरेको थियो । खेलको ४१औं मिनेटमा रोनाल्ड अरौजोले अग्रता दिलाए । खेल सकिँन तीन मिनेट बाँकी रहँदा डार्विन नुनेजले काउन्टर अट्याकमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका हुन् ।
यसअघि ५७औं मिनेटमा मेसीले प्रहार गरेको फ्रिकिक पोलमा लागेर बाहिरिएको थियो । मेसीको अधिकांश प्रहार उरुग्वेका गोलकिपरले बचाएका थिए ।
अर्जेन्टिनाको गोलकिपर इमिलियानो मार्टिनेजले सात सय ५२ मिनेटपछि गोल बेहोरेका छन् । विश्वकप फाइलनमा केलियन एम्बाप्पेले गोल गरेयता उनी क्लिन सिट राख्दै आएका थिए ।
हारपछि पनि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको शीर्षस्थानमा छ । पाँच खेलबाट पहिलो हारपछि १२ अंक जोडेको छ । उरुग्वे १० अंकसहित दोस्रो स्थानमा छ । अब, अर्जेन्टिनाले नोभेम्बर २२ मा पाँचौ स्थानमा रहेको ब्राजिलसँग खेल्नेछ ।