काठमाडौं । विश्वस्तरीय एकेडेमी स्थापना गर्ने अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ)को लामो समयदेखि प्रतिक्षा गरिएको आकांक्षा अन्ततः साकार हुने भएको छ ।
ओडिशाको भुवनेश्वरीमा २१ नोभेम्बर २०२३ मा फिफा प्रतिभा विकास योजनाअन्तर्गत एआइएफएफले फिफा एकेडेमी सुरु गर्ने भएको छ । कार्यक्रमको उद्धघाटन फिफाको ग्लोबल फुटबल विकास प्रमुख आर्सेन वेङ्गरले गर्नेछन् ।
फिफा प्रतिभा विकास कार्यक्रमको मुख्य लक्ष्य राष्ट्रिय टोली बलियो बनाउन विभिन्न सदस्य राष्ट्रसँग संगै काम गर्ने रहेको छ । फिफाले आफ्नो प्रतिभा प्रशिक्षण कार्यक्रम पनि ल्याएको छ । जसमा उसले सदस्य संघहरुलाई सक्रिय समर्थन गर्ने योजना बनाएको छ ।
विकासको बारेमा बोल्दै एआइएफएफ अध्यक्ष कल्याण चौबेले बताए, ‘आर्सेन वेङ्गर नोभेम्बर १९ देखि २३ सम्म भारतमा हुनेछन् । यो समयमा वेङ्गर र उनको टिमले आइएसएल, आई लिगका क्लबहरु र ग्रासरुटसँग सम्बन्धित सबैसँग भेट्नेछन्,’ उनले भने ।
‘विगतका दिनमा हामीले कयौं एकेडेमी संचालनमा आएको देख्यौं । ती सबैबाट सिक्दै एउटा राम्रो एकेडेमी संचालन गर्ने हाम्रो प्रयास हुनेछ । हामी विश्वस्त छौं की वेङ्गरको विशाल अनुभव र फुटबल गतिविधिको ज्ञान एकेडेमीलाई राम्रो बनाउन मद्दत हुनेछ । व्यक्तिगत रुपमा म यो कार्यको सुरुआत गर्न मद्दत गर्नुहुने फिफा अध्यक्ष जियानी इन्फान्टिनोप्रति आभार व्यक्त गर्न चाहन्छु र साथै वेङ्गरलाई भारत पठाएकोमा पनि धन्यवाद दिन चाहन्छु ।’
त्यस्तै एआइएफएफका कार्यवाहक महासचिव एम सत्यनारायणले भारतीय फुटबलका लागि यो एउटा नयाँ सुरुआत रहेको बताए । ‘हाम्रो दीर्घकालीन योजनाको बाटोमा यो एउटा ठूलो कदम हो । १४ वर्ष मुनिका युवाहरुमा लगानी गर्नु सबैभन्दा ठूलो सुरुआत हो । प्रतिभालाई नजरअन्दाज नहुने सुनिश्चित गर्न हामी देशका अन्य भागहरुमा पनि यस्तै काम सुरु गर्नेछौैं । यो पक्कै पनि भारतीय फुटबलका लागि नयाँ सुरुआत हो,’ सत्यनारायणले प्रतिक्रिया दिए ।
फिफाले भारतको यो कार्यक्रमका लागि फिफा प्रशिक्षित प्रशिक्षक सर्जी अमेजक्वा फोनट्रोडोनालाई नियुक्त गरेको छ । फोनट्रोडोना, एकेडेमीको मुख्य प्रशिक्षक रहनेछन् र उनले कार्यक्रम सफल पार्न प्रमुख भुमिका खेल्नेछन् ।