काठमाडौं । नेपाली राट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले टिमको रक्षा गर्न आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् । नेपालले सन् २०२६ विश्वकप छनोटको खेल भोलि (बिहीबार)बाट सुरु गर्दैछ ।
नेपालले समूह ‘एच’ मा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ । खेल राति साढे ९ बजे सुरु हुनेछ ।
कप्तान किरणले विश्वकप छनोटमा अस्ट्रेलिया जस्ता ठूला टोलीसँग खेलिसकेको बताउँदै राम्रो अनुभव रहेको प्रतिक्रिया दिएका छन् । ‘मैले आफ्नो करियरमा धेरै राम्रा खेलाडीहरुसँग खेल्ने मौका पाएको छु । पछिल्लो विश्वकप छनोटमा पनि अस्ट्रेलियन टिमसँग पनि खेलेको अनुभव छ । जहाँ मैले धेरै राम्रा खेलाडीहरुसँग खेल्ने मौका पाए,’ कप्तान किरणले आफ्नो अनुभव सुनाउँदै भने, ‘म आफ्नो टिमको रक्षा गर्न तत्पर छु । विगत १६–१७ वर्ष देखि नेपाली राष्ट्रिय टोलीबाट खेल्दै आएको छु,’ किरणले खेलअघि भएको पत्रकार सम्मेलनमा भने ।
समूह ‘एच’ मा नेपाल र युएईसँगै बहराइन र यमन छन् । नेपाल समूहको कमजोर टोली मानिन्छ । नेपालको समूहमा युएई नै बलियो टोली हो । हाल युएई फिफा वरियताको ६९औं स्थानमा छ । नेपाल एक सय ७३औं स्थानमा छ ।
नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले युएई बलियो टोली रहेपछि खेल्न तयार रहेको बताएका छन् ।