काठमाडौं । इटालियन च्याम्पियन नापोलीले प्रशिक्षक वाल्टर मजारीलाई नयाँ प्रशिक्षकका रुपमा अनुबन्ध गरेको छ ।
मंगलबार नापोलीले १० वर्ष अगाडि क्लब सम्हालेका मजारीलाई दोस्रो पटक जिम्मेवारी सुम्पिएको हो ।
६२ वर्षिय मजारीले फ्रेन्च प्रशिक्षक रुदी गार्सियालाई प्रतिस्थापन गरेका हुन् । एम्पोलीसँग पराजित भएपछि क्लबले निवर्तमान प्रशिक्षक गार्सियालाई बर्खास्त गरेको हो ।
घरेलु लिग सिरी ‘ए’मा नापोली २१ अंकका साथ लिगको चौंथो स्थानमा छ । र पहिलो स्थानको इन्टर मिलानभन्दा १० अंकले पछि परेको छ ।
सुरुआती १२ खेलमध्ये नापोलीले तीन खेल गुमाएको छ । नापोलीले अन्य हार लाजियो र फ्लोरेन्टिनाविरुद्ध ब्यहोरेको थियो । त्यस्तै नापोलीले तीन खेल बराबरी खेलेको छ ।
दोस्रो स्थानको युभेन्टसभन्दा ८ र तेस्रो स्थानमा रहेको एसी मिलानभन्दा २ अंकले पछि परेको स्थितिमा व्यवस्थापन समिति गार्सियालाई बर्खास्त गर्ने निर्णयमा पुगेको हो । १७ औं स्थानमा रहेको एम्पोलीसँग पराजित भएपछि रणनीतिक रुपमा गार्सिया कमजोर देखिएको थियो ।
गार्सियाले गत जुनमा मात्र १९९० पछि सिरी ‘ए’ जिताएका प्रशिक्षक लुसियानो स्पालेटीलाई प्रतिस्थापन गरेका थिए । तर, अहिले नापोली उपाधि रक्षा गर्नबाट टाढा जाँदैछ ।
अघिल्लो सिजन १२ खेल सकिँदासम्म नापोली १० अंकको अन्तरमा लिगको पहिलो स्थानमा थियो । त्यतिबेला नापोलीले १० खेल जित्दा २ बराबरी खेलेको थियो ।
नवनियुक्त प्रशिक्षक मजारीले यसअघि २००९ देखि २०१३ सम्म नापोली सम्हालेका थिए । मजारीको पहिलो सिजन अर्थात २००९-१० मा नापोलीले छैटौं स्थानमा लिग टुंगाएको थियो । एक वर्षपछि नापोली युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको थियो ।