काठमाडौं । पूर्व आर्सनल, बार्सिलोना र क्यामारुनका मिडफिल्डर एलेक्स सङले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
सङले व्यावसायिक करियरको आफ्नो अन्तिम तीन वर्ष पूर्वी अफ्रिकी देश जिबूतीको घरेलु क्लब एएस आर्टा/सोलार ७ बाट खेले । त्यहाँ सङले दुई लिग उपाधि र दुई घरेलु कपको उपाधि जिते । तर, नोभेम्बर २०२० मा अनुबन्ध भएका सङले त्यहाँ जम्मा पाँच खेल खेले ।
सङले मंगलबार सामाजिक सञ्जालमार्फत आफूले सन्यास लिएको घोषणा गरेका हुन् ।
‘म दुःखका साथ यो कुरा भन्दैछु की समय आएको छ, मैले सन्यास लिने,’ सङले इनस्टाग्राममा लेखेका छन्, ‘मेरो फुटबल यात्रा यौन्डे क्लबबाट भएको थियो । जहाँ मैले ग्राभेल मैदानमा खाली खुट्टाले खेलेको थिएँ । फुटबलका सुरुआती दिनहरुले मलाई थप बलियो र साहसी बनाएको थियो ।’
‘जब म फ्रान्स गएँ, त्यतिबेला बास्टियामा खेल्न पाउँदा मैले सबै उपलब्धि हासिल गरेको महसुस गरेको थिएँ । तर, त्यो त बल्ल मेरो करियरको सुरुआत थियो । मैले मेरो करियरमा आर्सनल र बार्सिलोना जस्तो विश्वकै ठूलो क्लबमा खेल्ने अवसर पाएँ । यसबीच मलाई मेरो यो यात्रामा मेरो श्रीमती, परिवार, साथीभाइ, प्रशिक्षक र सहकर्मीहरुले निकै साथ दिनुभयो जसका लागि म आभारी छु ।
‘वेस्ट ह्याम, रुवीन काजान, सियोन र आर्टा/सोलार ७ पनि मेरो मनमा संधैभरि बस्नेछ । क्यामरुनबाट विभिन्न उमेर समूहगरी ६० पटक खेल्न पाउँदा निकै गर्वको महसुुुस गरेको छु । म अनिगिन्ती यादहरु बनाउन पाउँदा धन्य छु ।
‘अन्त्यमा, म आफ्नो समर्थकलाई धन्यवाद दिन चाहन्छु । आशा गर्छु, हामी चाँडै भेट्नेछौं । फुटबलमा एकमात्र सङ छन् ।’
करियरको सुरुआतमै बास्टिया एकेडेमी पुगेका सङ २००५ मा आर्सनल पुगेका थिए । यसबीच २००६-०७ सिजनमा सङ अर्को इङलिस क्लब चार्लटन एथलेटिकमा लोनमा गएका थिए । त्यसपछिको पाँच वर्षमा सङ प्रशिक्षक आर्सन वेङगरको प्रमुख खेलाडी बनेका थिए । सङले आर्सनलबाट २०४ खेलमा १० गोल र २३ असिस्ट गरे । २०११–१२ सिजनमा सङ र रोविन भान पर्सीको जोडी हेर्नलायकको थियो ।
प्रिमियर लिगको प्रदर्शनले गर्दा सङ अन्य ठूला क्लबको नजरमा परेका थिए । २०१२ मा सङलाई १६.५ मिलियन पाउन्डमा बार्सिलोनाले अनुबन्ध गर्यो । बार्सिलोनमा चार वर्ष बिताएका सङ यसबीच वेस्ट ह्याममा दुई पटक लोनमा अनुबन्ध भए । बार्सिलोनामा सङले ६५ खेल खेले । त्यहाँ उनले ला लिगा र सुपरकोपा जिते ।
बार्सिलोनापछि सङले रुसी क्लब रुवीन काजान, स्विस क्लब सियोन र जिबूती क्लब आर्टा-सोलार ७ बाट खेले ।
अन्तर्राष्ट्रिय फुटबलमा सङले ४७ खेल खेले जहाँ उनले समान दुई विश्वकप र महादेशीय प्रतियोगितामा देशको प्रतिनिधित्व गरे ।