युरोपियन च्याम्पियनसिप छनोट

बेलिङ्घम र कोलविल इङ्ल्यान्डको टोलीबाट बाहिर

फाइल तस्बिर

काठमाडौं । जुड बेलिङ्घम र लेभी कोलविल युरोपियन च्याम्पियनसिप २०२४ छनोटका लागि घोषणा भएको इङ्ल्यन्डको टोलीबाट बाहिरिएका छन् ।

रियाल मड्रिडका मिडफिल्डर बेलिङ्घम र चेल्सीका रक्षक कोलविल दुवैको काँधमा चोट लागेको छ ।

इङ्ल्यान्डले नोभेम्बर १७ मा माल्टा र २० नोभेम्बरमा नर्थ म्यासेडोनियासँग खेल्दैछ । समूह ‘सी’ मा रहेको इङ्ल्यान्ड युरोपियन च्याम्पियनसिपका लागि छनोट भइसकेको छ । ६ खेलबाट अपराजित रहँदा १६ अंक जोडेको छ ।

युक्रेन १३ अंकसहित दोस्रो र १० अंकको इटाली तेस्रो स्थानमा छन् । सात अंकको म्यासेडोनिया चौथो र माल्टाविना अंक पुछारमा छ ।

जेम्स म्याडिसन, कलुम विलसन र लेविस डङ्क घाइते भएपछि प्रशिक्षक गारेथ साउथगेटले चेल्सीका कोल पाल्मर, म्यानचेस्टर सिटीका रक्षक रिको लेविस र एस्टन भिल्लाका एजरी कोन्साललाई पहिलो पटक समेट्दै टोली घोषणा गरेका थिए ।  

जसमा बेलिङ्घम र कोलविल पनि अटाएका थिए । साउथगेटले बेलिङ्घम र कोलविलको स्थानमा कुनै खेलाडी नल्याउने बताएका छन् ।