काठमाडौं । म्यानचेस्टर युनाइटेडका क्रिस्टियन एरिकसन र रासमस होयलन्डले स्लोभेनिया र नर्डन आयरल्यान्डविरुद्धको युरोपियन च्याम्पियनसिप छनोट खेल गुमाउने भएका छन् ।
इङ्लिस प्रिमियर लिगको पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनमाथि १-० को संघर्षपूर्ण जित हासिल गरेको थियो । उक्त खेलमा डेनिस खेलाडीद्धय मिडफिल्डर एरिकसन र फरवार्ड होयलेन्डले चोट बोकेका थिए ।
डेनमार्कले शुक्रबार स्लोभेनिया र सोमबार नर्डन आयरल्यान्डसँग छनोट खेल खेल्दैछ । जसमा टोलीका अनुभवी खेलाडी एरिकसन र युवा खेलाडी होयलन्ड हुनेछैनन् ।
घुँडाको चोटका कारण एरिकसन डिसेम्बरको तेस्रो साता मात्र मैदान फर्किने बताइएको छ । उता होयल्डलाई भने मांसपेशीमा समस्या देखिएको छ । होयलन्डले नोभेम्बर २६ मा एभर्टनविरुद्धको खेल पनि गुमाउनेछन् ।
डेनमार्क युरो छनोटको समूह ‘एच’ को दोस्रो स्थानमा छ भने युनाइटेड लिगको छैटौं स्थानमा छ ।